मकवानपुर
मकवानपुरमा युरिया मल अभाव हुँदा किसान मर्कामा

हेटौँडा, जेठ २५-
मकवानपुर जिल्लामा मकै खेती र चैते धानका लागि युरिया मलको अभाव भएको छ ।
मल अभावका कारण किसानहरुको कृषि उत्पादनमा ह्रस आउने डरले चिन्तित छन् । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रहरुमा मल खरीद गर्न जाने किसान रित्तै फर्किने गरेका छन् । जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्टट्रेडिङसँग युरिया मलको मौज्दात नरहेका कारण समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।
कृषि सामग्रीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताइन् । मलका लागि बोलपत्र आह्वान भई आयत प्रक्रिया पनि पूरा भइसकेकाले हेटौँडामा एक हप्तासम्ममा आइपुग्ने जानकारी दिइन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पनि मल अभावको गुनासो धेरै आएको बताए ।
चालू आर्थिक वर्षमा मकवानपुरमा अहिलेसम्म एक हजार ६०० मेट्रीकटन मल खपत भइसकेको र थप दुई हजार ३०० मेट्रीकटन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री संस्थानले जनाएको छ । त्यस्तै जिल्लामा पोटास र डिएपी मल पनि अभाव भएको छ । (रासस)