चितवन विशेष

खोलामा पानी सुकेपछि चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रमा बोरिङबाट पानी आपूर्ति

Banner

चितवन , जेठ २२-

चितवन राष्ट्रिय निकुञ्जको अर्ना संरक्षित क्षेत्रको खोलामा खडेरीले पानी सुकेपछि बोरिङबाट पानी आपूर्ति गरिएको छ । पहिलोपटक खडेरीले त्यहाँको खहरे र बाह्रमासे खोला सुकेपछि दुई हप्तादेखि बोरिङमार्फत १२ अर्नालाई चाहिने पानी आपूर्ति गरिएको हो ।

खडेरीकै कारण निकुञ्जको अन्य खोलाका मुहान पनि सुक्दै जाने क्रममा रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । पुरानो पदमपुर क्षेत्रको ३० हेक्टर क्षेत्रफलको विद्युतीय तारबारसहित अर्ना राखिएको ठाउँमा दुई हप्तादेखि जेनेरेटरको सहयोगमा दैनिक तीन घण्टाका दरले पानी खोलामा आपूर्ति गरिएको छ ।

उनका अनुसार पानी घट्दै गएपछि सो खोलाको मुहानदेखि तल्लो भागसम्म सफा पनि गरिएको थियो । सफा गर्दा पानी सुक्ने क्रम नरोकिएपछि अर्नालाई आहाल खेल्न र पानी खान समस्या देखेपछि खोलामा प्लाष्टिक बिच्छ्याएर पानी आपूर्ति गर्ने गरिएको छ ।
राप्ती नदीसँग जोडाएर तारबार गरिए खडेरीमा वन्यजन्तुलाई पानी उपभोग गर्न सहज हुने र वर्षात्को समयमा अहिलेकै ठाउँमा बस्न सक्ने उनको भनाइ छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले यो क्षेत्रमा दुई खोलामध्ये एउटा खोलामा वर्षाको समयमा पानी हुने गरेको र अर्को खोलामा बाह्रैमास पानी हुने गरेको बताए ।

लामिछानेले बाह्रैमास पानी हुने खोलाको नजिक विसं २०५२ अगाडि पुरानो पदमपुरको गाउँ थियो । गाउँ स्थानान्तरण भएपछि सरसफाइ नभएकाले पानीको सतह तल्लो भागमा गएको हुनसक्ने उनको भनाइ छ ।
निकुञ्जले तीन वर्षअघि कोशीटप्पु र शुक्लाफाँटाबाट अर्ना र बाह्रसिङ्गे प्रजातिको सङ्ख्या विस्तार गर्न यहाँ ल्याएर राखेको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>