Breaking News

२७ वर्षपछि नेपालमा धान,मकै र गहुँको उत्पादनमा वृद्धि

Banner

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २७ वर्षमा यस वर्ष नेपालले धान, मकै र गहुँको क्षेत्रफल क्रमशः एक, २६ र १९ प्रतिशतले बढाएसँगै उत्पादकत्वमा पनि ४६, ६५ र ९६ प्रतिशतले वृद्धि गरेको छ । यी तीनै बालीको उत्पादन वृद्धि हुनाको कारणमा नेपाल कुषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरी उन्मोचन वा सिफारिस गरेका बीउलाई किसानले उल्लेखनीय रुपमा प्रयोग गर्नु बताइएको छ ।

धानको उत्पादन वृद्धि गर्न नार्कले बढी सुख्खा र डुबान दुवै क्षेत्रमा सहन सक्ने खालको बीउ उन्मोचन गरी विकास गरेको बाह्या अनुसन्धान महाशाखा खुमलटारका प्रमुख ध्रुवराज भट्टराईले जानकारी दिनुभयो । “गहुँको उत्पादकत्व वृद्धिमा सुख्खा सहन सक्ने क्षमता भएको रोग प्रतिरोधी जातको बीउ विकास गर्नाले मद्दत पुगेको छ”, भट्टराईले भन्नुभयो, “मकैको उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्न वर्णशङ्कर मकैको विकासमा नार्कले थप अनुसन्धान गरी जोड दिएको थियो ।” नार्कले धान, मकै र गहुँका साथै जौका विभिन्न जात, सिर्जना गोलभेंडा, ट्राउट माछा र बोयर बाख्रालाई व्यवसायीकरण गरिसकेको बताइएको छ ।

नार्कले ललितपुरमा आज ‘पत्रकार कृषि वैज्ञानिक अन्तर संवाद कार्यक्रम –२०७६’ आयोजना गरी चालु आवमा भएको प्राविधिक उपलब्धि उजागर गर्दै नार्कले बाली, बागवानी, पशु, मत्स्य र सामाजिक आर्थिक क्षेत्रमा अनुसन्धान गर्न मुलुकभरिका ६२ कृषि र क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, महाशाखा र बाली वस्तुविशेष कार्यक्रम रु दुई अर्ब ३७ करोड ७८ लाखमा अनुसन्धान पूर्ण गरेको जनाएको छ ।

“नार्कको शुरुआती चरणमा विभिन्न ६७ बालीका ३२३ जात विकास गरिएको थियो, आज २११ बालीहरु उन्मोचन गरिसकेको छ”, विज्ञप्तिमा उल्लेख छ, “खाद्यान्न बालीतर्फ धानमा जोड दिन नार्कले कालो चामल, एरिज आइडिया, श्रीराम खुम्बु, एलपिएनबिआर १६०५ र अल्ट्रा सुपरमा यो वर्ष प्राथमिकता दिएको छ । ” वर्णशङ्कर जातको धानमा हर्दिनाथ धान–१ र हर्दिनाथ हाइब्रिड धान –१० सिफारिसका लागि नार्कले पहिले नै प्रस्ताव गरिसकेको जनाइएको छ ।
गहुँमा किसानलाई आत्मनिर्भर बनाउन त्यसमा लाग्ने खैरो सिन्दुरे, डढुवा, कालोपोके र सेतो ढुसीरोग अवरोधी बिएल ४३४१ विकास गरी खेतीका लागि सिफारिस गरिसकिएको प्रमुख बीउ विज्ञान महाशाखा प्रमुख ताराबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

“त्यसैगरि नार्कले बदाम उत्पादनमा जोड दिन समृद्धि, मुगमा प्रतिज्ञा, मासमा रामपुर र खजुरा मास १, मुसुरोमा खजुरा मुसुरो ४, तोरीमा नवलपुर तोरी ४ सिफारिस गरिसकेको छ”, क्षेत्रीले भन्नुभयो, “नार्कले वागबानी अनुसन्धानतर्फ सुन्तलामा खोकु स्थानीय, कागतीमा तेह्रथुम स्थानीय, आलुबालीमा खुमल विकास, काँक्रामा भक्तपुर लोकल, लट्टेमा रामेछाप हरियो लट्टे, स्क्वास फर्सीमा सुपर स्क्वास बल, तीतेकरेलामा सिजी –१ र सिजी–२, सिमीमा लङ ग्रिन बिन र सेमी लाइट लङ सिफारिस गरिसकेको छ ।”

नार्कले अलैँचीमा तन्तु प्रसारणको प्रयोगबाट रोगमुक्त बिरुवा निकाली वितरणको काम गरिरहेको बताइएको छ । नार्कले विभिन्न १३० बाली प्रजातिका ११ हजार ५०० बीउ सङ्कलन गरी भविष्यका लागि जिन बैंकमा संरक्षण गरिसकेको छ । त्यसैगरी स्थानीय पशु लुलु तथा अछामी गाई, भैंसी, भेंडा, बङ्गुर, कुखुरा र बाख्राको जमेको वीर्य जिन बैंकमा राखी संरक्षण एवं उपयोग गरिएको छ ।

नार्कले दुग्ध र मासुको उत्पादन वृद्धिका लागि अनुसन्धानका काम गरिरहेको छ । ट्राउट माछा उत्पादनमा जोड दिन नेपालका १२५ भन्दा बढी स्थानमा ट्राउट माछा फार्म स्थापना भएको नार्कका वरिष्ठ मत्स्य अनुसन्धान वैज्ञानिक अग्नि नेपालले जानकारी दिनुभयो ।

“यसैगरी नार्कले आगामी आर्थिक वर्षमा मसिनो र बास्नादार धान, मकैमा थप वर्णशङ्कर जात, समुदायमार्फत बढी मासु दिने बाख्राका जातको विकास र विस्तार, माछाको उत्पादन र उत्पादकत्व वृद्धि, आलुका उन्नत जातको विस्तार र समुदायमार्फत गुणस्तरीय बीउ उत्पादन, उखुबालीको जातीय व्यवस्थापन, प्रविधिको विकास र फलफूल ९सुन्तला, कागती, किबी, ओखर, स्याउ र एभोकाडो० का बेर्नाको उत्पादन तथा वितरणमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ”, नेपालले भन्नुभयो, “नार्कले कृषि अनुसन्धानलाई थप प्रभावकारी बनाउन मानित विश्वविद्यालयको स्थापना, वैज्ञानिकसँग कृषक कार्यक्रम र व्यावसायिक कृषकहरुलाई आवासीय तालीम प्रदान गर्ने लक्ष्य पनि अघि बढाएको छ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area