Uncategorized

राष्ट्रपतिको चीन भ्रमणको उपलब्धी के ? यस्तो छ विज्ञको राय

Banner

शुक्रबार, वैशाख २०, २०७६

वैशाख ११ गते चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी १८ गते स्वदेश फर्किएकी छिन् । चीनमा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान दिइएको छ । नेपालको संविधानलाई स्वीकार गरेको चीनले राष्ट्रपतिलाई बोलाएर भव्य स्वागत गर्नु सकारात्मक संकेत हो । भ्रमणको क्रममा भएका समझदारी र सहमतिले पनि त्यसलाई पुष्टि गर्दछ ।

विआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको रोहवरमा नेपाल–चीन यातायात तथा पारवहनसम्बन्धी ऐतिहासिक प्रोटोकल लगायत ७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीको २०७२ चैतमा गरेको चीन भ्रमणको क्रममा भएको पारवहन समझदारीले मूर्त रुप लिएको छ । औपचारिक रुपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फ भारतमा मात्रै रहँदै आएकोमा चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ । अब नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ भने बन्दरगाहसम्मको पहुँचका लागि छिटो र उपयुक्त रुट प्रयोग गर्न दिन पनि चिनियाँ पक्ष सहमत भएको छ । यसले नेपालको व्यापार, आयात र निर्यातमा सहजता आउने अपेक्षा गर्न सकिन्छ । खासगरी दक्षिण कोरिया, जापान र ती देशको नजिकका देशबाट सामान ल्याउँदा नेपाललाई सहज हुनेछ ।

यसैगरी चीनले नेपाललाई १ अर्ब चिनिया युआन सहयोग प्रदान गर्ने पनि बताएको छ । यता नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग, नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधारका लागि आपसी सहयोग बढाउने, दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्ने, नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशसनबीच आपसी सहकार्यका लागि समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । यसले नेपाललाई ठूलो फाइदा पुग्ने विज्ञहरुले बताएका छन् ।

के भन्छन् विज्ञहरु ?

प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्री, नेपाल सरकार

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमण ऐतिहासिक, निकै सफल र फलदायी तथा सार्थक भयो । नेपालले ‘ट्रान्स हिमालय कनेक्टिभिटी र रेल–वे कनेक्टिभिटीलाई बिआरआई परियोजनामा जोड्नुपर्छ’ भन्दै गरेको प्रस्ताव बिआरआईको परियोजनासँग जोडिनुले नेपाल व्यावहारिक र व्यापारिक हिसाबले पनि चीनसँग नजिक भएको छ । बिआरआईमा पारित यो प्रस्तावले नेपाललाई एकतर्फी पारवहनमा भरपर्नुपर्ने स्थितिको अन्त्य गराउनेमा नेपाल पक्षले विश्वास लिएको छ । नेपालले दक्षिणसँग मात्रै भर परिरहेका कारण नाकाबन्दीमा जुन समस्या भोग्यो, त्यसले हामीलाई कुनै न कुनै विकल्पमा जानैपर्ने थियो, त्यो परिस्थितिलाई चिर्न यसले धेरै ठूलो महत्व राख्छ ।
प्रदीप ज्ञवाली
परराष्ट्र मन्त्री, नेपाल सरकार

 

ज्ञानेन्द्र कार्की,
सांसद, पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य, नेपाली कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएका बहुपक्षीय छलफलमा नेपाली सरोकारका विषय समेटिएका छन् । त्यसले आगामी दिनमा नेपालका विकास कार्य अझै अगाडि बढाउन सहयोग पुग्ने देखिन्छ । विआरआईमा नेपाल जोडिन पाउनु आफैँमा नेपालका लागि उपयुक्त हो । अझ चीनका राष्ट्रपतिले नै नेपाललाई सहभागि बनाउन पाउँदा खुसी लागेको छ भनेकाले यसको महत्त्व अझै बढेर गएको मैले देखेको छु । सुधारका क्षेत्रमा नयाँ परिदृश्य खोल्ने बिआरआईको उद्देश्य रहेको चिनिया राष्ट्रपति सीको जिकिरले नेपालको सहभागितालाई पनि महत्वका साथ हेरेको देखिन्छ । प्रस्तावक चीनलाई दक्षिण एसियासँग जोड्ने बाटोका लागि नेपालको सहभागिता अर्थपूर्ण हुने आशा गर्न सकिन्छ ।

सांसद, पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य, नेपाली कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा परराष्ट्र मन्त्रीज्यूले बहुप्रतिक्षित पारवहन प्रोटोकल, दुई देशबीच आर्थिक र प्राविधिक सहयोगसम्बन्धी सहमति, नेपालको उत्तरी क्षेत्रका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउनेसम्बन्धी माइन्युट र चिनियाँ अनुदानमा नेपालमा सञ्चालित आयोजनामा सम्बन्धी प्रमाणपत्र दुई देशबीच आदान प्रदान भएको छ । यसले नेपाल र चीनबीच थप सहकार्य गर्ने बाटो खुलेको रुपमा बुझ्न सकिन्छ । त्यस्तै भन्सार सुधारका लागि द्विपक्षीय सहयोगसम्बन्धी समझदारी नेपालको गुणस्तर तथा नापतौल विभाग र चीनको गुणस्तर विभागको स्तरसम्बन्धी सम्झदारीमा समेत सहभागी भएको छ । यी सहमति हुनुको अर्थ हो अब नेपाल दक्षिणमा मात्रै निर्भर छैन उत्तरमा पनि सहभागिता, सम्बन्ध र सहकार्य गर्ने बाटोमा अगाडि बढिरहेको छ । हामी सबैसँग समन्जस्यता कायम गर्ने बाटोमा अगाडि बढिरहेका थियौ, अहिलेको भ्रमणले हाम्रो योजनालाई कार्यान्वयनको चरणमा पुर्याएको अनुभूति मैले गरेको छु ।

योगेश भट्टराई
स्थायी समिति सदस्य, नेकपा

००००००००००००

डा. प्रकाशशरण महत
पूर्वपरराष्ट्र मन्त्री एवम् सहमहामन्त्री, नेपाली कांग्रेस

विकासशील राष्ट्रहरूका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुलापन तथा सुधारका क्षेत्रमा नयाँ परिदृश्य खोल्ने बिआरआईको उद्देश्यमा नेपाल सहभागी हुन पाउनु नेपालजस्तो विकासशील हुन खोजिरहेको मुलुकका लागि अवसर हो । दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई दुई पक्षीय वार्ताका क्रममा उठाइएका विषय, त्यसमा भएका छलफल, सहमति र सम्झौताले अझै मजबुत बनाएको छ । नेपालका दुई प्रस्ताव सम्मेलनले पारित गर्नु भनेको नेपालले विआरआईमा बलियो उपस्थिति देखाउन सुरु गर्यो भन्नु हो । विआरआइमा सहभागिताका लागि मैले गरेको सुरुवातले अब परिपक्वता कायम गरेको मैले बुझेको छु ।
डा. प्रकाशशरण महत
पूर्वपरराष्ट्र मन्त्री एवम् सहमहामन्त्री, नेपाली कांग्रेस

००००००००००००

हिरण्यलाल श्रेष्ठ
कुटनीतिज्ञ

नेपालले वेल्ट एण्ड रोडको दोस्रो सम्मेलनमा आफ्नो प्रतिबद्धता र समर्थन पुनः प्रस्तुत गरेको छ । नेपाल कुनै एउटा देशको पोल्टोमा बस्ने भुटानजस्तो मुलुक होइन र सबै मुलुकसँग नेपालले सहकार्य गर्नसक्छ भन्ने परिचय यस सम्मेलनमा नेपालले देखाएको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदा सम्पन्न भएका सम्झौतालाई कार्यान्वयन गर्नका लागि प्रोटोकलमा हस्ताक्षर गर्नुपर्ने थियो त्यो राष्ट्रपतिज्यूको यसपटकको भ्रमणमा सम्पन्न भएको छ । अब नेपाललाई नाकाबन्दी गर्ने डर भएन । अब नेपाल लेण्डलक कन्ट्रीबाट लेण्डलिङ्कड कन्ट्री भएको छ । यो सम्झौताबाट दुबै मुलुकलाई बराबरी फाइदा पुग्छ । साथै नेपालको उत्तरी क्षेत्रको विकास गर्दा ध्यान दिनु जरुरी छ ।

आगामी दिनमा नेपालको कच्चा पदार्थलाई चीनको पूँजी र प्रविधिको मिश्रण गरी चीनमै पठाउने अनि गतिशील र सन्तुलित व्यापारिक सम्बन्ध विस्तार गर्ने अनुकूल समय आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको नेपाल भ्रमणको निमन्त्रणालाई चिनिया राष्ट्राध्यक्ष सी चिनफिङले स्वीकारेका छन् । नेपाली जनता चिनिया राष्ट्राध्यक्षलाई स्वागत गर्न आतुर छन् तर चिनिया राष्ट्राध्यक्ष नेपालमा कसैको मुख हेर्न र भोज खान मात्रै नआउने कुरा बुझ्नु जरुरी छ । हाम्रा एजेण्डाहरु कत्तिको चीनकालागि महत्वपूर्ण छन् ? सो हेरेर नै चिनिया राष्ट्राध्यक्ष नेपाल आउने हुनसक्छ । यहाँ महत्वपूर्ण कुरा के छ भने चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमणको समयमा उनको सुरक्षा दिन सक्षम छ कि छैन त्यो बुझ्न जरुरी छ । चीनका भूतपूर्व प्रधानमन्त्री वन च्यापाओ सन् २०११ मा नेपाल आउँदा ४ घण्टा मात्र बसेका थिए । यसले के संकेत गरेको छ भने, नेपालले चिनिया नेतालाई ४ घण्टामात्र सुरक्षा दिनसक्छ । चिनिया नेताको भ्रमणका समयमा दक्षिण तिरको सीमाना बन्द नगर्ने र उताबाट चीन विरोधीहरु नेपाल आउने हो भने भ्रमण हुन सक्दैन त्यसैले नेपालले चीनको सुरक्षा, चासोलाई सम्बोधन गर्नु जरुरी छ ।
हिरण्यलाल श्रेष्ठ
कुटनीतिज्ञ

००००००००००००

जनार्दन विष्ट
चिफ न्यूज इडिटर, रेडियो नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीको यो भ्रमण नेपाल चीन मैत्रीका लागि दुरगामी प्रभाव पार्ने भ्रमण हो । चिनिया राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१३ मा ल्याउनु भएको वेल्ट एण्ड रोड अत्यन्त महत्वाकांक्षी परियोजना हो । यो फोरमलाई प्रयोग गर्दै नेपालले चीनबाट विभिन्न खालका फाइदाहरु लिन सक्ने देखिन्छ । यस भ्रमणमा सम्पन्न यातायात तथा पारवहन सम्झौताले भारतसँगको एकल सामुद्रिक निर्भरताको अन्त्य गर्दै चीनसँगको ढोका खुलेको छ । त्यसले चीनसँगको नेपालको व्यापारिक सम्बन्ध विस्तारमा मद्दत मिल्नेछ ।
नेपालका राष्ट्रपतिको यस भ्रमणलाई चीनले उच्च प्राथमिकता दिएको छ । जुन हाम्रो लागि उपलब्धिमूलक छ । राष्ट्रपतिज्यूले चिनिया राष्ट्रपतिलाई नेपाल भ्रमणकालागि दिनु भएको निमन्त्रणाको पनि विशेष अर्थ छ । र भविष्यमा चिनिया राष्ट्रपतिले नेपालको भ्रमण गर्ने सम्भावना देखिन्छ । त्यतिमात्रै नभएर नेपालको आर्थिक विकासकालागि चीन सरकारले यस पटक १ अर्ब आरएमबी सहयोग गर्ने घोषणा गरेको छ । यो पनि यस भ्रमणको महत्त्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्छ । साथै यस भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई आगामी दिनमा अरु प्रगाढ बनाउने विश्वास गर्न सकिन्छ ।
जनार्दन विष्ट
चिफ न्यूज इडिटर, रेडियो नेपाल

००००००००००००

चण्डीराज ढकाल
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

राष्ट्रपति भण्डारीको चीन भ्रमणका समयमा सम्पन्न भएका सम्झौताहरुको हस्ताक्षर तथा तिनको कार्यान्वयनबाट नेपालले चीनका बन्दरगाहहरु सहजरुपमा प्रयोग गर्न पाउने वातावरण बनेको छ । यसले नेपाल–चीनबीचको ब्यापारलाई व्यवस्थित गर्ने कुरामा म विश्वस्त छु । महत्वपूर्ण कुरा के हो भने, भारतको सामुद्रिक बन्दरगाह मात्रै प्रयोग गर्दै आएको नेपालकालागि अब अर्को मौका प्राप्त भएको छ । र भारतमाथिको एक पक्षिय निर्भरता हटेको छ । यो चीनले नेपाललाई दिएको महत्वपूर्ण अवसर हो । तर यो सम्झौता तथा हस्ताक्षरलाई कार्यान्वयन कसरी गरिन्छ त्यो हेर्नुपर्ने विषय हो । सन्धी सम्झौता हुने र त्यसको प्रचार प्रसार पनि हुने तर व्यवहारमा कार्यान्वयन नहुने हो भने त्यसको कुनै अर्थ रहँदैन । त्यसैले सन्धी सम्झौताको कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।
चण्डीराज ढकाल
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

००००००००००००

राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

राष्ट्रपतिज्यूको यसपटकको चीन भ्रमणको शिलशिलामा नेपाल र चीनबीच भएको यातायात तथा पारवहन सम्झौता सकारात्मक छ । र नेपालकालागि यो खुसीको कुरा हो । विगतमा दक्षिण छिमेकी भारतबाट मात्र आयात–निर्यातमा भर पर्नुपर्ने अवस्था थियो तर अब यो सम्झौता पश्चात उत्तरी छिमेकी चीनसँग समेत ब्यापार गर्न सहज भएको छ । यो सुवर्ण मौका हो । हामी व्यवसायीहरुलाई व्यापार विस्तारका लागि यस सम्झौताले फाइदा पुग्ने मेरो विश्वास छ ।
राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स

००००००००००००

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>