देश/प्रदेश

भोटेकोशी बाढीमा बेपत्ता सुनसरीका १७ जनालाई राहतका लागि विवरण प्राधिकरणमा सिफारिस

०
Banner

रसुवा ,मङ्सिर १२-

भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा परी बेपत्ता भएका सुनसरीका १७ जनाको आधिकारिक विवरण राहत प्रक्रियाका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गरी पठाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा सम्पन्न भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले स्थानीय तहबाट सिफारिस भई आएका बेपत्ता व्यक्तिको आवश्यक कागजात सहित विवरण प्राधिकरणमा पठाउने र हालको विपद् व्यवस्थापन कोषमा मौज्दात रकम अपुग हुने भएकाले थप राहत रकम माग गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए ।

बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, गढी गाउँपालिका, दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र रामधुनी नगरपालिकाका बासिन्दा रहेका छन् ।

अधिकांश रसुवा मानसरोवर तीर्थयात्रामा जाँदै गरेका, रसुवा टिमुरे तथा अध्यागमन कार्यालय आसपास रहेका र विभिन्न जलविद्युत् आयोजना, होटेल तथा निर्माण कार्यमा कार्यरत व्यक्ति रहेको उनले बताए ।

त्यसै गरी बाढीपहिरो तथा पूर्वाधार क्षति व्यवस्थापन तर्फ धरान उपमहानगरपालिका–४ स्थित सेउती खोलाको बाढीले आमबोटे क्षेत्र कटान गरी तल्लो भागमा पहिरो जाँदा धान खेत, बस्ती र व्यावसायिक कृषि फार्म जोखिममा परेको भन्दै नियन्त्रणका लागि लागत अनुमान सहित बजेट व्यवस्थापन गर्न कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरलाई पत्राचार गर्ने निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।

यसैगरी बर्जु–४, छरहडी–५, ६ हुँदै इलाका प्रहरी कार्यालय गढी–इटहरी सडक बहुवर्षीय योजना अन्तर्गत दुहबी नगरपालिका–१० चरैया इँटाभट्टा स्थित टेङ्ग्रा खोलाको बाढीले भत्काएको टेवा पर्खाल पुनः निर्माणका लागि आवश्यक बजेट माग गर्दै प्रदेश विपद् व्यवस्थापन समितिमा सिफारिस पठाउने निर्णय भएको उहाँले जानकारी दिए ।

जिल्ला ट्राफिक कार्यालय धरानको कार्यालय भवन निर्माणका लागि धरान–८ तीनकुने स्थित कोशी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको चौरास्तामा रहेको लाङ्घाली सामुदायिक वन क्षेत्रको २ बिघा जग्गा प्रयोग गर्न विपद्का तर्फबाट समस्या नरहेको व्यहोरा सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको प्रजिअ अर्यालले जानकारी दिए ।

त्यसै गरी चिसो मौसम र शीतलहरूलाई ध्यानमा राख्दै रुघा, खोकी, झाडापखाला र निमोनिया जस्ता स्वास्थ्य समस्याबाट जोगिन जिल्ला अस्पताल सुनसरी लगायत स्थानीय स्वास्थ्य संस्था मार्फत निःशुल्क औषधि सहज वितरणको व्यवस्था मिलाइने छ ।

स्थानीय तहका एम्बुलेन्स तयारी अवस्थामा राख्ने, सचेतना मूलक सूचना प्रसारण गर्ने, आगो ताप्ने घुरबाट हुने आगलागी तथा चोट पटक रोक्न दमकल तयारी राख्ने र डिभिजन वन कार्यालयको समन्वयमा सहुलियत दरमा दाउरा उपलब्ध गराई आवश्यक स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाइने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

त्यसै गरी जङ्गली हात्तीको परम्परागत कोरिडोर सहज बनाई मानव तथा सम्पत्ति क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षा निकायहरूलाई विपद् उद्धार सामग्री तथा दक्ष जनशक्तिको अद्यावधिक नामावलीसहित तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालयले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>