देश/प्रदेश
पुल नहुँदा तुइनको भर, जोखिमपूर्ण यात्रामा रसुवावासी

रसुवा ,मङ्सिर १२-
भोटेकोशी नदीमा आएको बाढीले भौतिक संरचनासहित पुलहरू बगाएपछि रसुवाका स्थानीय बासिन्दा अहिले पनि सहज आवतजावतको पर्खाइमा छन् । गत भदौ १० गते आएको बाढीले गाउँ जोड्ने बाटो र पुलहरूमा क्षति पुर्याएपछि स्थानीयवासी तुइनको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा जसोतसो तुइन तरेर वारपार गरिरहेका उनीहरूलाई वर्षायाममा कसरी आवतजावत गर्ने भन्ने चिन्ताले सताउन थालेको छ । पुल नहुँदा नदी वारपार गर्न तुइन चढ्नुपर्ने बाध्यता छ । तुइनमा झुन्डिएर नदी पार गर्दा हरेक पटक स्थानीयको मन ढुकढुक हुन्छ । एकातिर नदीको बहाव र अर्कोतिर चुँडिने हो कि भन्ने डरबीच उनीहरू दैनिक जीवनका लागि जोखिम मोलिरहेका छन् ।
बाढीले भौतिक संरचनामा क्षति पुर्याउनुका साथै स्थानीयको जीवनसमेत तहसनहस बनाएको छ । स्थानीय नान्सी तामाङले बाढीमा आफ्नो ठूलो छोरा गुमाए । बाढीका कारण गाउँ नै विस्थापित भएपछि आवतजावतका लागि बाटोसमेत नहुँदा उनले भोग्नुपरेको सास्ती झनै पीडादायी छ । तीन दिनअघि गाउँ फर्किँदा पहिलेको तुलनामा गाउँ झन् सुनसान र दुःखद अवस्थामा देखेको उनी बताउँछिन् । कुनै समय दुईदेखि तीन सय जनासम्मको बसोबास रहेको गाउँमा अहिले मुस्किलले ५०–६० जना मात्रै भेटिने गरेको उनको भनाइ छ ।
बाढीले धेरै परिवारलाई आफन्तविहीन बनाएको छ भने कतिपयलाई गाउँ छाड्न बाध्य बनाएका छन् ।
काठमाडौँबाट ईभी चढेर दिउँसो साढे ४ बजे धुन्चे पुगेका तामाङले राति करिब साढे ८ बजेसम्म पनि तुइन तर्न नसकेको अनुभव सुनाए टर्चको उज्यालोमा एक्लै कुरेर बस्नुपरेको र पछि पारिबाट आएका व्यक्तिको सहयोगमा मात्रै नदी पार गर्न सकेको उनले बताए । फर्किने क्रममा तुइन चढ्दा डरले आँखा चिम्लिएर नदी पार गरेको उनको अनुभव छ ।
बाढीले पुर्याएको क्षति र विस्थापनको पीडामाथि पुल नहुँदाको सास्ती थपिएको छ । स्थानीयवासीका अनुसार तत्काल आवतजावत सहज बनाउने व्यवस्था नहुँदा दैनिक जीवनयापनदेखि बिरामीलाई अस्पताल लैजान र अत्यावश्यक कामका लागि समेत समस्या भइरहेको छ । स्थानीयले स्थानीय सरकार, प्रदेश सरकार, वडा अध्यक्ष तथा विभिन्न सहयोगी निकायलाई तत्काल सुरक्षित पुल निर्माण वा अस्थायी वारपारको व्यवस्था गरिदिन आग्रह गरेका छन । हिउँदमा तुइनको सहारामा जसोतसो दिन काटिरहेका उनीहरूलाई वर्षायाम सुरु हुनुअघि नै सुरक्षित विकल्प उपलब्ध गराउनुपर्ने माग छ ।
भोटेकोशीको बाढीले भत्काएका संरचना अझै पुनर्निर्माणको पर्खाइमा छन् । पुल नहुँदा तुइनमा झुन्डिएर नदी पार गर्नुपर्ने रसुवावासीको बाध्यता कहिले हट्ने हो भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।


























