Breaking News

यसपालिको हिउँदमा औसतभन्दा बढी वर्षा र हिमपात हुने पूर्वानुमान

०
Banner

(तस्बिरः एआई),

काठमाडौं, मंसिर ८ –

यस वर्षको हिउँदमा नेपालमा औसतभन्दा बढी वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको क्षेत्रीय जलवायु पूर्वानुमानअनुसार आगामी हिउँदमा नेपालका विभिन्न क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने देखिएको हो।

इसिमोडले सार्वजनिक गरेको ‘हिन्दुकुश हिमालय हिउँदे पूर्वानुमान २०२६’ (एचकेएच विन्टर आउटलुक २०२६) ले नेपालसहित हिन्दुकुश हिमालय क्षेत्रका केही देशमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना औँल्याएको छ। पूर्वानुमान नोभेम्बर २०२६ देखि फेब्रुअरी २०२७ सम्मको अवधिका लागि गरिएको हो।

पूर्वानुमानअनुसार नेपालको मध्य क्षेत्रमा औसतभन्दा बढी वर्षाको सम्भावना तुलनात्मक रूपमा बलियो देखिएको छ। पहाडी क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने तथा उच्च हिमाली क्षेत्रमा तुलनात्मक रूपमा चिसो हुने अनुमान गरिएको छ। त्यस्तै, उत्तरी हिमाली क्षेत्रमा हिउँको तह सामान्यभन्दा बढी हुन सक्ने आकलन गरिएको छ।

इसिमोडका अनुसार यस वर्षको हिउँदमा वर्षा र हिमपातको मात्रा बढ्दा पश्चिमी हिमालयका केही क्षेत्रमा स्थानीय बाढी, पहिरो तथा हिमपहिरोको जोखिमसमेत बढ्न सक्छ। विशेषगरी अत्यधिक वर्षा र हिमपात हुने सम्भावना भएका क्षेत्रहरूमा पूर्वतयारी आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।

यस वर्षको हिउँदे मौसममा एल निनोको प्रभावसमेत देखिन सक्ने आकलन गरिएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन ९एनओएए० का अनुसार बलियोदेखि अत्यन्त बलियो एल निनो विकसित हुने सम्भावना छ। यसले हिमाली क्षेत्रको तल्लो भेगमा बढी वर्षा र उच्च उचाइमा बढी हिमपात गराउन सक्ने इसिमोडका वैज्ञानिकहरूको भनाइ छ।

हिमाली क्षेत्रमा जम्ने हिउँले आगामी वर्ष नदीको बहाव, खानेपानी, सिँचाइ तथा जलविद्युत् उत्पादनमा समेत प्रभाव पार्ने भएकाले हिउँदे मौसमको अवस्थालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

इसिमोडका विज्ञहरूले मनसुन सकिएसँगै विपद् जोखिम न्यूनीकरणको तयारी पनि अन्त्य गर्न नहुनेमा जोड दिएका छन्। वर्षा र हिमपातको अवस्था परिवर्तनशील हुन सक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायले मौसमी पूर्वानुमानअनुसार आवश्यक तयारी गर्नुपर्ने उनीहरूको सुझाव छ।

यद्यपि, यो मौसमी पूर्वानुमान भएकाले कुनै निश्चित दिन वा स्थानमा वर्षा र हिमपात हुने निश्चितता भने होइन। त्यसका लागि जल तथा मौसम विज्ञान विभागले जारी गर्ने नियमित मौसम पूर्वानुमानलाई समेत ध्यान दिनुपर्ने हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>