राजनीति
भोटेकोसी बाढीपीडितको उचित व्यवस्थापन गर्न सरकार असफलः कांग्रेस

काठमाडौं, मंसिर ८
नेपाली कांग्रेसले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उचित व्यवस्थापन गर्न सरकार असफल भएको जनाएको छ ।
बाढी प्रभावित तीन जिल्लाको स्थलगत अवलोकनपछि केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले पीडितहरूको दुःख अझै कम हुन नसकेको बताएका हुन् ।
बाढी प्रभावितलाई वितरणका लागि कांग्रेसले सरकारको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको थियो । तर, कोषमा ठूलो रकम जम्मा भए पनि सरकारले बाढी प्रभावितको उचित व्यवस्थापन गर्न नसकेको थापाले बताए ।
कांग्रेसले सरकारलाई सहयोग गर्नुपर्ने विषयमा सहयोग गर्दै आएको उनले बताए । तर, सरकारका कमजोरीप्रति भने पार्टीले खबरदारी गर्ने उनको भनाइ छ ।
“सरकारलाई प्रतिरोध गर्नुपर्ने ठाउँमा प्रतिरोध गर्छौं । जुन विषयको सन्दर्भमा प्रतिपक्षी दलहरूबीच संवाद र सहकार्य गर्नुपर्छ, ती विषयमा सहकार्य पनि गर्छौं । हामी प्रतिपक्षीको सशक्त जिम्मेवारीमा छौँ,” उनले भने ।
भोटेकोशी बाढीपछि कांग्रेसले सबैभन्दा पहिले सरकारको कोषमा रकम जम्मा गरेको उल्लेख गर्दै थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताए । संसद्बाट समेत कांग्रेसले सरकारलाई सहयोग गरेको उनले जानकारी दिए ।
बाढी प्रभावितको खोजी तथा उद्धार र राहत वितरणमा पनि कांग्रेसले सरकारलाई सहयोग गरेको उनको भनाइ छ । विपद्का समयमा सरकारले गरेका कमजोरीमा समेत कांग्रेसले तत्काल विरोध नगरी सहयोग र सहकार्यलाई प्राथमिकता दिएको उनले बताए ।
आइतबार रसुवा, नुवाकोट र धादिङको स्थलगत अवलोकनबाट फर्किएको जानकारी गराउँदै थापाले बाढीपीडितको दुःख अझै कम नभएको बताए । काठमाडौंबाट हेर्दा अवस्था सामान्य देखिए पनि प्रभावित क्षेत्रका नागरिकको पीडा यथावत् रहेको उनको भनाइ छ ।
बाढीमा मृत्यु भएका व्यक्तिका परिवारले कानुनी प्रक्रियाका कारण समस्या भोग्नुपरेको उनको भनाइ छ । मृत्यु भएको प्रमाणित हुन नसक्दा पीडित परिवारले आवश्यक राहत तथा सुविधा पाउन कठिनाइ भएको उनले बताए ।
“काठमाडौंबाट हेर्दा बढो शान्त छ भनेर बुझिएको छ । मृत्यु भएको परिवारका सदस्यलाई थाहा छ, मृत्यु भइसकेको छ । तर, नेपालको प्रचलित कानुनका कारण मृत्यु भएको कुरा प्रमाणित गर्न सकिएको छैन,ू थापाले भने, ूयो विषय उठाएको पनि अढाइ महिना भयो । जम्मा २४ घण्टाको काम छ । अहिलेसम्म यो विषय टुंगिएको छैन ।”
बाढी प्रभावित तीन जिल्लाका स्थानीय तहले पीडितका लागि धेरै काम गरेको भए पनि उनीहरू संघसंस्था र स्थानीय तहबाट उपलब्ध राहतकै भरमा बस्न बाध्य रहेको थापाले बताए । बाढीका कारण नागरिकको जमिनसमेत नरहेको उनले उल्लेख गरे ।
स्थलगत अवलोकनका क्रममा बेत्रावती, टिमुरेलगायत क्षेत्रका नागरिकसँग भेटघाट गरेको जानकारी दिँदै उनले त्रिशूली क्षेत्रका पीडित विद्युत् प्राधिकरणको जग्गामा बसिरहेको बताए ।
























