अन्तर्राष्ट्रिय
क्रस रिभरका प्रवेश रिजाल न्युयोर्कमा ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित

न्युयोर्क ,मङ्सिर ४ –
न्युयोर्कस्थित वित्तीय प्रविधि कम्पनी ‘क्रस रिभर’ का कार्यकारी उपाध्यक्ष तथा प्रमुख डेटा एवं एआई अधिकृत प्रवेश रिजाल प्रतिष्ठित ‘भिजन अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । गत शुक्रबार न्युयोर्कमा आयोजित एक भव्य समारोहबीच रिजाललाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा नेतृत्वका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।
‘द सीआईओ रुम’ द्वारा प्रदान गरिने यो अवार्डले आविष्कार, डिजिटल रूपान्तरण र संस्थागत व्यवसायमा अर्थपूर्ण प्रभाव पार्ने प्रविधि क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गर्दछ ।
रिजाललाई सम्मान गर्दै ‘द सीआईओ रुम’ ले भनेको छर्, प्रमुख डेटा तथा एआई अधिकृतका रूपमा तपाईंको नेतृत्व, विशेषगरी वित्तीय सेवामा ‘एजेन्टिक एआई’ को प्रयोगलाई अघि बढाउन तपाईंले गरेको कार्यले उत्तरदायी र व्यवसाय–केन्द्रित नवीनताप्रतिको बलियो प्रतिबद्धता झल्काउँछ । अनुपालन (कम्प्लायन्स), पुँजी बजार र सफ्टवेयर विकासमा एआईको प्रयोग गरी जटिल वित्तीय वातावरणलाई सहज बनाउँदै कार्यक्षमता अभिवृद्धि गर्न तपाईंले खेलेको भूमिका प्रशंसनीय छ । उचित मानवीय निगरानी, जवाफदेहिता र व्यावहारिक प्रयोगसहितको विश्वसनीय एआई प्रणाली निर्माणमा तपाईंको जोड नै यस सम्मानका लागि सर्वोत्कृष्ट आधार हो ।’
रिजालले हाल क्रस रिभरको डेटा प्लेटफर्म, आर्टिफिसियल इन्टेलिजेन्स, ग्लोबल बैंकिङ र अनचेन फाइनान्स (Onchain Finance) रणनीतिको नेतृत्व गरिरहेका छन् । यसअघि उनले सोही कम्पनीको ‘क्वान्टिटेटिभ स्ट्राटेजीज’ विभागको नेतृत्व सम्हालेका थिए ।
वाल स्ट्रिटका विभिन्न प्रतिष्ठित वित्तीय संस्थाहरूमा काम गरिसकेका रिजालले यसअघि सिटीग्रुपको ग्लोबल मोडलिङ विभागमा वरिष्ठ उपाध्यक्षका रूपमा समेत कार्य गरेका थिए । वित्तीय इन्जिनियरिङ र एप्लाइड एआईमा गहिरो दखल राख्ने उनले न्युयोर्क युनिभर्सिटीबाट फाइनान्सियल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने हाल फ्रान्सको ईडीएचईसी बिजनेस स्कुलबाट फाइनान्समा विद्यावारिधि (पीएचडी) गरिरहेका छन् ।
विराटनगरमा जन्मिएका रिजाल विभिन्न परोपकारी कार्यहरूमा समेत सक्रिय छन् ।
यसअघि सन् २०२५ को जुलाईमा रिजाल संयुक्त राज्य अमेरिकाका १०० प्रभावशाली एआई नेतृत्वकर्ताहरूको प्रतिष्ठित सूची ‘एआई १००’ मा पर्न सफल भएका थिए ।
























