देश/प्रदेश
चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ

काठमाडौं,मंसिर २ –
काठमाडौंको जय बागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जय बागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् ।
प्रहरीका अनुसार मंसिर १ गते दिउँसो करिब साढे २ बजे जय बागेश्वरीस्थित एक घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो । खोजतलास तथा अनुसन्धानका क्रममा बागमती प्रदेश ०२–०३६ प ४९७५ नम्बरको स्कुटरमा सवार डंगोललाई प्रहरीले फेला पारेको थियो ।
उनको घरको कोठामा खानतलासी गर्दा चोरीका विभिन्न गरगहना तथा सामान फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनको साथबाट पहेँलो धातुका चुरा, सिक्री, लकेट, औँठी, मुन्द्रा, टप, नथिया, सिक्का लगायतका गरगहना तथा चाँदीजस्तो देखिने सिक्का, गिलास, चम्चा, लोटा, पाउजु, मूर्ति, कचौरा र अन्य सामग्री बरामद गरेको छ ।
त्यस्तै, भारतीय रुपैयाँ १६ हजार ७१६ र नेपाली रुपैयाँ ४१ हजार नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
डंगोललाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























