देश/प्रदेश

टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छः सञ्चारमन्त्री डा तिमिल्सिना

०
Banner

काठमाडौँ, मंसिर २ 

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशका कुनै पनि नागरिकलाई टेलिफोन तथा इन्टरनेट सेवाको पहुँचबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका बस्ती तथा जुगल हिमाल र आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तारको मागसहित सञ्चारमन्त्री डा तिमिल्सिनालाई भेटेको स्थानीय युवाहरुसँगको छलफलमा उहाँले मानव बस्ती भएका सबै स्थानमा दूरसञ्चार सेवा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिइरहेको बताउनुभयो ।

मन्त्रालयमा आज भएको उक्त छलफलमा काठमाडौँ क्षेत्र नं १० का प्रतिनिधिसभा सदस्य प्रदीप विष्ट, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल)तथा जुगलका स्थानीय युवाहरु सहभागी हुनुहुन्थ्यो । सांसद विष्टले काठमाडौँ उपत्यकाभित्रै टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर प्रभावकारी नरहेको गुनासो आइरहेको उल्लेख गर्दै सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा नागरिक अझै सञ्चार सेवाबाट वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा सञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।

सो क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तरसम्बन्धी समस्या देशभर रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि उपलब्ध स्रोत साधनको अधिकतम प्रयोगसँगै नयाँ खरिद प्रक्रिया पनि अघि बढाइएको बताउनुभयो । देशभर दूरसञ्चार सेवाको पहुँच तथा गुणस्तर सुधार्न ग्रामीण दूरसञ्चार विकास कोषको रकमसमेत परिचालन भइरहेको उहाँले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाका अनुसार आगामी करिब डेढ वर्षभित्र देशभर नेपाल टेलिकमका थप एक हजार ६०० हाराहारी टेलिफोन टावर निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । करिब रु १२ अर्ब बराबरको ठेक्का प्रक्रिया अगाडि बढेको र निर्धारित अवधिभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

दूरसञ्चार पूर्वाधार विस्तारमा बजेटको अभावभन्दा पनि व्यावहारिक तथा प्रक्रियागत जटिलता र निर्धारित समयमा टावर निर्माण सम्पन्न हुन नसक्ने समस्या देखिएको सञ्चारमन्त्री तिमिल्सिनाको भनाइ थियो ।

अहिलेको समयमा पनि नागरिक सञ्चार सेवाको पहुँचबाट वञ्चित हुनु गम्भीर विषय भएको उहाँले बताउनुभयो । “जहाँबाट गुनासो आएको छ, त्यहाँ तत्काल समस्या समाधान हुनुप¥यो । टावर थप्ने, क्षमता बढाउनेलगायत जे काम गरेर समस्या समाधान हुन्छ तत्काल गर्नुहोला,” नेपाल टेलिकमलाई निर्देशन दिँदै उहाँले भन्नुभयो ।

विद्युत् सुविधा नपुगेका स्थानमा उच्च क्षमताका सौर्य ऊर्जा प्रणाली तथा ब्याट्रीको व्यवस्था गरी टावर सञ्चालन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो । त्यस्तै, सञ्चालनमा रहेका टावरले आफ्नो अधिकतम क्षमताअनुसार सेवा दिइरहेका छन् वा छैनन् भन्ने विषयमा नियमित निरीक्षण गर्न र समस्या देखिएका स्थानमा तत्काल क्षमता अभिवृद्धि गर्न टेलिकमलाई निर्देशन दिइएको छ ।

छलफलमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक पहाडीले जुगल गाउँपालिकामा तत्काल प्राविधिक टोली पठाएर सञ्चार सेवाको अवस्थाबारे स्थलगत अध्ययन गरिने बताउनुभयो । टेलिफोन तथा इन्टरनेट सेवामा समस्या आउनुका प्राविधिक कारण पहिचान गरी आवश्यक सुधारका काम अघि बढाइने उहाँको भनाइ थियो । टावर निर्माण तथा सेवा विस्तारका क्रममा स्थानीयस्तरबाट समेत सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

यसैबीच, जुगल गाउँपालिकाका युवाहरूले जुगल हिमाल, जुगल भ्यु पोइन्ट तथा आधार शिविर क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न र गाउँपालिकाका विभिन्न बस्तीमा गुणस्तरीय फोरजी सेवा सुनिश्चित गर्न सञ्चारममन्त्री डा तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन् ।

गाउँपालिकाले ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको सन्दर्भमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि सञ्चार सुविधाको अभाव चुनौतीका रूपमा रहेको उनीहरूले बताएका छन् । स्थानीय युवाहरूले मेलम्ची डाँडामा रहेको टेलिफोन टावरको प्राविधिक क्षमता वृद्धि तथा मर्मत गरी गुणस्तरीय फोरजी सेवा सञ्चालन गर्न र पाङ्ग्रेप डाँडाको टावर मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।

साथै, समद्री सतहदेखि करिब चार हजार ५०० मिटर उचाइमा रहेको जुगल भ्यू पोइन्ट तथा आधार शिविरसम्म मोबाइल नेटवर्क र इन्टरनेट सेवा विस्तार गर्न उपयुक्त स्थानमा नयाँ टावर स्थापना गर्नुपर्ने उनीहरूको माग छ । गाउँपालिकाका बोल्दे, गुम्बा, क्याङसिङ, अम्बाखर्क, तेम्बाथान र दिप्पुङलगायतका बस्तीमा भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा सुनिश्चित गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>