देश/प्रदेश
भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, भदौ ११-
रसुवाको भोटेकोशी हुँदै त्रिशुली र नारायणी नदीमा आएको बाढीबाट प्रभावितको खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि एक हजार ५०० बढी सशस्त्र प्रहरी परिचालन भएका छन् ।
उक्त क्षेत्रमा विपद् प्रतिकार्य वेस स्थापना गरी खोज तथा उद्धारका लागि भत्केका संरचनामा खोज तथा उद्धार गर्ने दक्ष टोली र गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
टोलीले विभिन्न संरचना तथा जलविद्युत् परियोजनालगायत प्रभावित स्थानहरुमा सम्पर्कविहीन भएकाको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै आइरहेको छ ।
सशस्त्र प्रहरीबाट तालिम प्राप्त कुकुर र छ वटा ड्रोन समेत परिचालन गरिएको छ । परिचालित सो टोलीले लोकेट गरिएको १२ स्थानबाट ९८ वटा शव, ३० जना घाइते तथा ७३ जनाको समेत सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
बाढीमा घाइते भएकाका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटमा स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य सेवाको कार्य सञ्चालन गरेको छ । बाढीमा परेकाहरुको तत्काल उपचारका लागि नेपाल एपिएफ अस्पतालमा १०० वटा वेडहरु समेत खाली राखिएको छ ।
त्यस्तै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १०० वटा वेड क्षमतासहितको कन्टेनर बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पु¥याउने कार्य समेत भइरहेको छ । साथै अन्य क्षेत्रमा रहेका कन्टेनरसमेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ । रासस

























