देश/प्रदेश
च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट

सोलुखुम्बु, भदौ ११-
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो ।
त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरीले जनाएको छ । प्राप्त विवरणअनुसार घाइते शेर्पाको हाल अस्पतालको अपरेसन थिएटरमा उपचार भइरहेको छ ।
घटनास्थल प्रहरी चौकी बेनीबाट करिब तीन किलोमिटर पूर्वतर्फ पर्ने प्रहरीले जनाएको छ । जंगल क्षेत्रमा च्याउ तथा अन्य वनजन्य वस्तु संकलनका क्रममा जंगली जनावरको जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

























