देश/प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको अभियानः ‘पोखौँ पसिना देशमै हाँसेर’

Banner

अत्तरिया (कैलाली), असार २-

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ पसिना देशमै हाँसेर’ अभियान सञ्चालन गर्ने भएको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आवका लागि प्रस्तुत गर्नुभएको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

स्वदेशमै सीप, श्रम र सिर्जनशीलताको सम्मान गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्री धामीले बताउनुभयो । सो अभियानअन्तर्गत कृषि क्षेत्रमा युवाहरूको आकर्षण बढाई उद्यमशीलता प्रवर्द्धन गर्न कृषि अध्ययन गरेका तथा विदेशबाट फर्केका युवाहरूलाई लक्षित गरी युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिने उहाँ बताउनुभयो ।

उक्त कार्यक्रम सञ्चालन गर्न रु दुई करोड पाँच लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारले ‘सानै छु म बढ्न देऊ, बालविवाह होइन, पढ्न देऊ’ अभियानलाई पनि निरन्तरता दिइने छ । सो अभियानलाई निरन्तरता दिन बालविवाहविरुद्धको अभियान सञ्चालनका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले विपन्न, दलित, मुक्त कमैया, मुक्त कमलरी, मुक्त हलिया, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालगायत लक्षित वर्गको सशक्तीकरण र आधुनिक उत्थानका लागि निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालन गर्नेछ ।

निःशुल्क जीविकोपार्जन लक्षित कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ६० लाख बजेट विनियोजन गरेको मन्त्री धामीले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>