चितवन विशेष

समाजको विकृति र बिसंगतिमाथि प्रहार, ‘प्रतिविम्ब’ लघु कथासङ्ग्रह

Banner

मधुसूदन दवाडी,

चितवन, असार २-

सप्तगण्डकी बहमुखी क्याम्पस नेपाली विभागकी प्रमुख डा. बिन्दु पौडेल वस्तीको लघुकथासङ्ग्रह सार्वजनिक भएको छ । आफ्नी आमा स्वर्गीय गङ्गामाया पौडेल र स्वर्गीय ससुराबा मुक्तिनाथ वस्तीप्रति समर्पित यस लघुकथा सङ्ग्रहमा ८४ वटा छोटा कथाहरु समावेश गरिएको छ । एक, दुई अनुच्छेद लामा कथाहरु एउटा पढेपछि अर्काे पढ्न मन लाग्ने खालका छन् । लामा–लामा कथा र उपन्यास पढेर वाक्क भएका पाठकको लागि यी कथा सङ्ग्रह फास्टफुड खाए जस्ता छन् । ‘ज्ञान’ बाट सुरु भएको कथाको श्रृङ्खला ‘एकता’ मा गएर टुङ्गिन्छ ।

सरल भाषामा लेखिएका कथाहरुले नेपाली समाजमा देखिएका विकृति र बिसंगतिमाथि प्रकार गरेको छ । कतै कथाहरुले दिनभर फुट्ने र रातभर जुट्ने नेपालको बिगतको राजनीतिक दलहरुको फोहोरी चरित्रमाथि प्रहार गरेका छन् । सत्ताको लागि जे पनि गर्ने प्रवृत्ति उनीहरुमा थियो । ‘एक्लो’ कथाले पत्नी बियोगमा छटपटिएका श्रीमान्को कथालाई प्रष्ट पारेको छ भने कयौ कथाहरुले सन्तानको मनमा उब्जने मनोवैज्ञानिक द्वन्द्वलाई चित्रण गरेको छ । कथाकार वस्तीले पुस्तकमा पौराणिक पात्रहरुको सन्दर्भ उल्लेख गर्दै आधुनिक नारीका, समस्या, चाहना र अस्तित्वको सफल चित्रण गर्नुभएको छ । सबै कथाहरु पढ्दा कथाकारले थोरै शब्दमा धेरै कुरा भन्ने सामथ्र्य राख्नुभएको छ । म लघुकथा पढ्दै छु भन्ने कुनै अनुभव नै हुँदैन । मस्तिष्कमा तरंग पैदा गर्ने कथाहरुले समाजको कुरुप पक्षहरुलाई जस्ताको तस्तै छर्लङ्ग पार्दे सुन्दर र आदर्श समाजको परिकल्पना गरेका छन् । विशेष गरी वैदेशिक रोजगारीको पीडा, भष्टाचार, स्वार्थीपन, अमानवियता, वृद्ध अवस्थाको एक्लोपन, बेरोजगारीका कारण युवाहरुमा पैदा भएको निरासालाई पुस्तकले समेटेको छ । त्यस्तै, कथा सङ्ग्रहमा जेनजी विद्रोहपछि बदलिएको राजनीतिक परिवर्तनले केही न केही न समाजमा नयाँ परिवर्तन ल्याउने आशा पनि व्यक्त गरिएको छ । जसलाई नयाँ अवतारको रुपमा कथामा चर्चा गरिएको छ ।

पुस्तकको बारेमा चर्चा गर्दे कथाकारले भन्नुभएको छ, ‘प्रतिविम्ब कृति केवल शब्दहरु वा अक्षरहरुको संयोजन मात्रै होइन, यो त अनुभूतिका बाछिटाहरु, मौनताको प्रतिध्वनिहरु र जीवनले छाडेका अदृश्य तथा अमीट छायाहरुको समग्र अभिव्यक्त हो ।’ उहाँले विसं २०५७ सालतिर चितवनकी अग्रज साहित्यकार सरस्वती रिजालको लघुकथाबाट प्रभावित भएर कथा लेख्न सुरु गर्नुभएको बताउनु भएको छ । मदन पुरस्कार बिजेता साहित्यकार राधा पौडेलको सहोदर दिदी डा. बिन्दु पौडेल वस्तीको पहिलो कथा सङ्ग्रह भए पनि उहाँको लेखनमा राम्रो परिपक्कता र जिम्मेवारीबोध पाइन्छ । उहाँको श्रीमान् ठाकुरप्रसाद ओस्ती प्रकाशक रहनु भएको कथासङ्हको मूल्य २०१ रुपैयाँ तोकिएको छ । ८४ वटा लघुकथाहरु ८४ पृष्ठमा नै अटाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>