चितवन विशेष
चितवनमा मदन जयन्तीः नेपालका कम्युनिष्ट पार्टीहरु जवजकै मान्यतामा अडिक

चितवन, असार १४ –
नेकपा (एमाले) चितवनले ८ औं विस्तारित बैठक तथा ७३ औं मदन जयन्ती र जरा अभियान २०८१ को समापन कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार भरतपुरमा एमाले चितवनले एकसाथ ३ कार्यक्रम सम्पन्न गरेको हो । आज सम्पन्न ८ औं विस्तारित बैठकले विभिन्न निर्णयहरु गरेको छ । साथै बैठकमा नेकपा एमालेको जरा केन्द्रित अभियानको समिक्षा गर्दै अभियानको समापन समेत गरिएको छ ।
७३ औं मदन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रम मदन जयन्ती केन्द्रित नै बन्यो । एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जनताको बहुदलीय जनवाद (जबज) आमुल परिवर्तनकारी लोकतान्त्रिक धारा भएको बताए ।
नेपालका समस्त कम्युनिष्ट पार्टीहरु मदन भण्डारीको विचार जबजकै मान्यतामा रहेको अधिकारीको भनाइ छ । ‘देशका नीति नियमहरु पनि जवजको मान्यता अनुसार निर्माण भएका छन्’ उनले भने । यसर्थ मदन भण्डारीको विचार जबज अझै पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै उनले समाजवादमा जाने मुख्य बाटो नै जबज भएको बताए ।
उनले समाजवाद ल्याउनका लागि २०८४ सहित लगातार ५ वटा निर्वाचनमा तीनै तहमा एमाले विजयी हुनुपर्ने बताए । ‘त्यसैले मिसन ८४ मात्रै होइन, मिसन २५ वर्ष हुनुपर्छ । तब बल्ल वैज्ञानिक समाजवाद आउँदछ’ उनले भने ।