अन्तर्राष्ट्रिय
विपिनको नेतृत्वमा एनआरएनए कोष्टाव्लाङ्काको १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

विप्लव काफ्ले
स्पेन, असार १०
गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्का को अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् ।
तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डाक्टर वृहस्पति पण्डित चयन भएका छन् । यस्तै युवा संयोजकमा सुसाङ्क खत्री, महिला संयोजकमा जानुका पौडेल चयन भएका छन् । सदस्यहरुमा गोविन्द पोखरेल, पदमलाल लामिछाने, विमला पोख्रेल, चन्द्रा खत्री, अजय थापा, कृष्ण पुन रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष विसिले कोष्टाव्लाङ्कामा रहेका सबै नेपालीलाई समेट्ने बताए । ‘२० वर्ष बढी संघसंस्थाको पदीय जिम्मेवारी रोजिएन’, उनले भने, ‘सामाजिक कार्य सहज बनाउन नेतृत्व लिएको छु, सबैलाई समेट्ने छु ।’ विसि सन् २००४ मा स्पेन छिरेका थिए । ३ वर्ष जति काम गरेपछि उनले आफ्नै व्यवसाय सुरु गरेका थिए । नयाँ कार्यसमितिमा अधिकांस युवाहरु छन् ।
एनआरएनए स्पेनका केन्द्रीय उपमहासचिव तथा निर्वाचन पर्यवेक्षक केशवराज कँडेलले सर्वसहमतिमा नेतृत्व चयन गरेर कोष्टाव्लाङ्काले एकताको सन्देश दिएको बताए । ‘प्रवासमा नेपालीहरु एक्यवद्ध छन्, मिलेरै सामाजिक काममा तल्लिन हुन्छन् भन्ने सन्देश पनि हो’, उनले भने, ‘सशक्त जुझारु नेतृत्व आएको छ, आगामी दिनमा सक्रिय भएको देख्ने अपेक्षा छ ।’ एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले साझा चरित्रनै सफलताको माध्यम हुने बताए ।
निर्वाचन समिति संयोजक देवराज सापकोटाले नयाँ कार्यसमिति आशलाग्दो र भरपर्दो बनेको बताए । क्षेत्रगत सचिव सन्तोष अर्यालले कोष्टाव्लाङ्का सौहार्दतापूर्ण नेपाली बसोबास गर्ने थलो बनेको बताए । एनआरएनए कोष्टाव्लाङ्का निवर्तमान अध्यक्ष सुरेश बज्राचार्यले आफ्नो कार्यकाल सफल पार्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । निर्वाचित कार्यसमितिलाई पर्यवेक्षक तथा एनआरएनए स्पेनका उपमहासचिव केशवराज कँडेल, निर्वाचन समिति संयोजक देवराज सापकोटा, एनआरएनए स्पेनका केन्द्रीय सदस्य रितेश श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।कोष्टाव्लाङ्कामा २ सय बढी एनआरएनएमा आवद्ध छन् ।