अन्तर्राष्ट्रिय
नेपालको पूर्वाधार विकासमा सहयोग गर्छौंः चिनियाँ राजदुत सोङ
पर्वत, कात्तिक २३-
नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालको विकास र समृद्धिका लागि आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभएको छ ।
पर्वतको फलेवास नगरपालिकास्थित भवानी विद्यापीठ माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध निरन्तर सुमधुर रहेको बताउनुभयो । मित्रराष्ट्रको विकास र समृद्धिका लागि सहयोग गर्न चीन सरकार सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ ।
हिमाल र नदीले जोडिएका नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आफ्नो मूल हितका विषयमा एक अर्कालाई निरन्तर सहयोग गर्दै आएको बताउँदै सोङले नेपालको सडक, विद्युत्, शिक्षा क्षेत्रको सुधारमा सहकार्य गरिने बताउनुभयो । उहाँले नेपाल एक स्वतन्त्र र विकासशील राष्ट्र बनोस् भन्ने चीनको इच्छा रहेको बताउनुभयो ।
राजदूत सोङले कोरला नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको बताउनुभयो । कोरला नाकामा नेपालतर्फ पनि पूर्वाधार निर्माणमा चीन सरकारले सहयोग गर्दै आएको बताउँदै उहाँले नाका सञ्चालनपछि दुई देशको सम्बन्ध अझै बढ्दै जाने पनि बताउनुभयो । पर्यटकीयस्थल पोखरामा पटक–पटक आएको भए पनि नजिकै रहेका सुन्दर ठाउँमा पनि आउन पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।
जिल्लाकै नमूना विद्यालयको रूपमा रहेको भवानी विद्यापीठ माध्यमिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि पनि चीन सरकारले सहयोग गर्ने भएको छ । विद्यालयले भौतिक पूर्वाधार निर्माणका लागि रु ५० लाखको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी नेपाल सरकारमार्फत दूतावासमा पेस गरेको छ ।
सोही सहयोगका लागि विद्यालयको शैक्षिक, भौतिक, व्यवस्थापकीय पक्षका बारेमा अध्ययन अवलोकन गर्नका लागि राजदूत सोङ आउनुभएको प्रधानाध्यापक अर्जुन रेग्मीले जानकारी दिनुभयो । रासस