खेलकुद

साफ महिला च्याम्पियनसिपः सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

Banner

काठमाडौं, कात्तिक ९–

घरेलु टोली नेपालले सर्वाधिक पाँच पटकको च्याम्पियन भारतसँग साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार दशरथ रंगशालामा भएको समूह ‘बी’को अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भयो । निर्णायक खेलमा नेपालले श्रीलंकालाई ६–० ले हरायो । यो हारपछि श्रीलंका समूह चरणबाट बाहिरियो । यसअघि दिनको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएपछि नेपाललाई समूह विजेता बन्न कम्तीमा ६ गोल गर्नुपर्ने दबाब थियो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दा साबिक विजेता बंगलादेशले भुटानको सामना गर्नेछ ।

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सेमिफाइनल जित्न खेल्ने बताएका छन् । ‘हामी भारतसँग खेल्न तयार छौँ । उपाधि जित्ने लक्ष्य हुँदा सेमिफाइनल जित्न खेल्छौँ ।’ सन् २०२२ को संस्करणमा पनि नेपाल र भारतले नै सेमिफाइनल प्रतिस्पर्धा गरेका थिए । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । नेपालले भारतलाई साफ च्याम्पियनसिपमा हराएको यो नै पहिलोपटक थियो । फाइनलमा भने नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुँदा पुनः उपविजेतामा सीमित बनेको थियो ।

रश्मिको गोलमा समूह विजेता

नेपालले श्रीलंकालाई ६–० ले हराउँदा समूह विजेता बनाउन रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । ९० मिनेटसम्म नेपाल ५–० ले अघि हुँदा उपविजेता हुने निश्चितजस्तै थियो । तर, इन्जुरी समयमा रश्मिले हेडर गोल गर्दै नेपाललाई समूह विजेता बनाएकी हुन् । तीन खेलबाट समान ७ अंक भए पनि भुटान गोलअन्तरमा उपविजेता बन्यो । यसअघि नेपाल र भुटानले पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो ।

यसअघि रेखा पौडेलले दुई तथा सविता रानामगर र सावित्रा भण्डारीले पहिलो हाफमै गोल गरेपछि नेपाल ४–० ले अघि रह्यो । दोस्रो हाफमा अमिसा कार्की र रश्मिकुमारी घिसिङले समान एक गोल गरेका थिए । प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बासहित अमृता जैशी, सावित्रा भण्डारीलाई पहिलो ११ मा खेलाएका थिए । तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध विश्राममा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>