राजनीति

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छः ओली

Banner

रसुवा, वैशाख २२-

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माणमा जोड दिनुभएको छ ।नेकपा (एमाले) रसुवा जिल्लाको नवौँ अधिवेशनको आज धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष ओलीले जिन्दगीमा एकपटक पुग्नुपर्ने पवित्र तीर्थस्थलमा भक्तजनको सहज धार्मिकयात्राका लागि केबुलकार आवश्यक रहेको बताउनुभयो ।उहाँले केबुलकारको विकासले रेडपाण्डाको बसोबासमा समेत कुनै असर नपर्ने भएकाले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गरी त्यसलाई सम्भव बनाउनुपर्ने उहाँको भनाइ थियो ।

समृद्व नेपाल सुखी नेपालीको नारालाई शीरोपर गर्दै समयअनुसार जनतालाई फलदायी हुने विकासकार्यमा अगाडि बढ्नुपर्ने भन्दै अध्यक्ष ओलीले विकासका कुरा छाडेर व्यक्ति वा समुदायमाझ विखण्डनकारी क्रियाकलापमा नलाग्न सबैलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले केरुङ–काठमाडौँ रेलमार्गको सर्भे कार्य भइसकेकाले २४ किमी टनेल निर्माण भएमा आधा घण्टामै स्याफ्रुबेँसीबाट बेत्रावती पुग्ने वातावरण बन्ने भन्दै नमूनाका रूपमा आफूले सुरूगराएको सिस्नेखोला दहचोक काठमाडौँ सुरुङमार्गको प्वाल छेड्ने कार्यसम्पन्न भइसकेकाले अब छिट्टै सवारीसाधन आवतजावत हुने विश्वास व्यक्त गर्नुभयो ।

एमाले रसुवा अध्यक्ष कर्नेल तामाङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा रक्षामन्त्री एवं एमाले केन्द्रीय सदस्य हरि उप्रेतीले पार्टी अध्यक्षको नेतृत्व र निर्देशनमा शिक्षा, स्वास्थ्य, कृषि, सडक सुधारलगायत राष्ट्रहितका कार्य अगाडि बढाउन सबैबाट सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा पार्टीलाई योगदान गर्ने गोसाइँकुण्ड गापा अध्यक्ष कैसाङनुर्पु तामाङ, संविधानसभा सदस्य छोवाङतेञ्जिङ तामाङलगायत नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । केबुलकार निर्माणका लागि गोसाइँकुण्ड गाउँपालिकाले केही वर्षअघिदेखि प्रस्ताव अगाडि बढाए पनि कार्यविधि पारित नहुँदा सो प्रस्तावले मूर्तरूप लिनसकेको छैन । अध्यक्ष ओलीको स्थलगत भ्रमणपछि कार्यविधि पारित हुन सघाउपुग्ने विश्वास व्यक्त गरिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>