देश/प्रदेश

सुनकोसी मरिण डाइभर्सन: सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

Banner

काठमाडौँ, वैशाख १५-

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २६ गते सुरुङको ब्रेक थ्रू गर्नुहुनेछ । ब्रेक थ्रूको आवश्यक तयारी भइरहेको छ ।

“प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु कार्यक्रममा सहभागी हुनुहुनेछ”, उहाँले भन्नुभयो ।

रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ । यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँस्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।

सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।

सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भन्नुभयो, “ग्राउटिङलगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ । सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।”

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन निर्देशन दिनुभएको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । थप जनशक्ति परिचालन गर्न र आवश्यक समन्वय गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशन दिनुभएको छ ।

निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै सुरुङ निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुमगन भइरहेको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ रहेको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन ९टिबिएम० प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।

यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न पटक पटक निर्देशन दिइएको छ ।

विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । त्यस्तै सो आयोजनाबाट ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार चनाखो देखिएको छ ।

सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्यान्न उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>