देश/प्रदेश

ओलाङ्चुङगोला पुग्न सहज

Banner

फुङ्लिङ (ताप्लेजुङ), वैशाख १३-

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै ओलाङचुङ्गोला पुग्न सहज भएको हो ।

ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत वर्षमा सदरमुकाम फुङ्लिङबाट तीन दिन यात्रा गरेपछि मात्र ओलाङ्चुङगोला पुग्न सकिन्थ्यो । विस्तारै तमोर करिडोर सडकको ट्रयाक खुलाउने कार्यसँगै ओलाङ्चुङगोला पुग्न सहज हुँदै गएको थियो । केही समयअघिसम्म इलाडाँडासम्म यातायात पुग्ने गर्दथ्यो । इलाडाँडाबाट पैदालमार्ग हुँदै एक दिनमा ओलाङ्चुङगोला पुग्ने गरिन्थ्यो । अहिले भने गाडी ओलाङ्चुङगोलासम्म नै पुग्ने गरेको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामाले बताउनुभयो । लामाका अनुसार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टामा ओलाङ्चुङगोला पुग्न सकिने बताउनुभयो ।

ओलाङ्चुगोला क्षेत्र हुँदै टिप्ताला नाका क्षेत्र, पर्यटकीय क्षेत्र सिङ्जेमा ताल क्षेत्रमा भ्रमण गर्न आउने पर्यटकलाई सहज भएको पर्यटन व्यवसायीको भनाइ छ । ओलाङ्चुङगोला हुँदै ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा गर्न निस्कनेका लागि समेत सहज भएको छ ।

तमोर करिडोरले ओलाङ्चुङगोला हँुदै छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्रयाक निर्माणको काम सम्पन्न भएसँगै तमोर करिडोरले ओलाङ्चुङगोला हुँदै चीनलाई जोडेको हो । तमोर करिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दूरी भएको सडकका रूपमा लिने गरिएको छ । तमोर करिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्रयाक निर्माण सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्रयाक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्रयाक निर्माण सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिप्तालालाई सडकले जोडेको छ । उहाँका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलबाट ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दूरी बराबर ट्रयाक निर्माण गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमार्फत ट्रयाक निर्माण भइरहेको छ । ओलाङ्चुङगोलाबाट टिप्तालानाकासम्म ट्रयाक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब २४ किलोमिटर दूरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनःनिर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिप्तालाबाट ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म स्थानीयवासीले रकम सङ्कलन गरी ट्रयाक निर्माण गरेका थिए । ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिप्तालासम्म सडक मर्मत तथा पुनःनिर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ ।

ओलाङ्चुगोलाबाट टिप्तालासम्म भने ट्रयाक मर्मतका साथै पुनःनिर्माणको काम सम्पन्न भएपछि हिउँद मौसमभर यातायात सञ्चालन हुनसक्ने बताइएको छ । वर्षात्का समयमा भने तमोर नदीसहित दर्जनौँ अन्य साना–ठूला खोलामा पुल आवश्यक पर्ने भएकाले मोटर गुड्ने पुल निर्माण नभएसम्म यातायात सञ्चालन नहुने सडक योजनाले जनाएको छ ।

नेपाल, भारत र चीन जोड्ने सडक भएकाले तमोर करिडोरलाई त्रिदेशीय सडकमार्ग पनि भन्ने गरिएको छ । भारतसँगको सिमाना विराटनगरको रानीबाट धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दूरी दुई सय ९९ किलोमिटर रहेको बताइएको छ ।

करिडोर सडकअन्तर्गत रानीदेखि मूलघाटसम्म कालोपत्र भइसकेको र मूलघाटबाट सुभाङखोलासम्म कालोपत्र गर्ने क्रम जारी रहेको छ । बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर अघि बढ्ने उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>