चितवन विशेष

चितवनका भित्री सडकमा दुर्घटना बढी

Banner

चितवन, वैशाख ६-
जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।

भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार विसं २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सेवेदीले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरवाही र ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ ।”

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>