गोरखा

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनः स्थापना

Banner

गोरखा, पुस २८-

भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनः निर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ ।

भूकम्पका कारण भग्नावशेष अवस्थामा रहेको राजगद्दी मर्मतसम्हार गरी शुक्रबारदेखि पुरानै ठाउँमा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुप्रसाद पाठकले जानकारी दिनुभयो । “भूकम्पले दरबारमा क्षति पुगेपछि दरबारमा रहेको ऐतिहासिक राजगद्दी पनि दरबार परिसरमा भग्नावशेष अवस्थामा थियो”, प्रमुख पाठकले भन्नुभयो, “त्यसलाई पुरातात्विक तथा ऐतिहासिक महत्व नमेटिने गरी साविकै स्वरुप र शैलीमा साविककै ठाउँमा राखिएको छ ।” भूकम्पपछि दरबार पुनः निर्माणका क्रममा राजगद्दी पनि भग्नावशेष अवस्थामा रहेको थियो ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पबाट राजगद्दी र पृथ्वीनारायण शाहको बाल्यकालमा सेक ताप गरिएको भनिएको अँगेनाको ध्वनि पनि भूकम्पपछि बन्द भएको थियो । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राजगद्दी साविककै स्थानमा राखिएको हो । गर्भगृहमा राजगद्दी राखिएसँगै अबदेखि गोरखा दरबार पुग्ने नागरिकले मूलदरबारमा राखिएको ऐतिहासिक गद्दी हेर्न पाउनेछन् ।

“विगतमा जस्तै अबदेखि गर्भगृहमा राखिएको राजगद्दी दरबार बाहिरको झ्यालबाट अवलोकन गर्न सकिने व्यवस्था गरिएको छ”, प्रमुख पाठकले भन्नुभयो, “दरबारमा विगतमा बलिरहेको ध्वनिलाई निरन्तर गर्ने गरी कामको थालनीसमेत भएको छ ।”

भूकम्पले क्षति पुर्‍याएको मूलदरबार, कालिका मन्दिर, रङगमहल, गोरखानाथगुफालगायतका अधिकांश संरचना पुनः निर्माण र मर्मत गर्ने कार्य लगभग सकिएपछि राजगद्दी पनि देखाउने उपयुक्त हुने भएकाले आवश्यक मर्मत गरी पुरानै ठाउँमा राखिएको उहाँले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>