नवलपरासी

पार्टी एकता बलियो बनाउन आवश्यक छः मुख्यमन्त्री पोखरेल

Banner

परासी,भदौं ३-

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पार्टी एकतालाई बलियो बनाउन आग्रह गर्नुभएको छ । नेकपा पश्चिम नवलपरासीको दोस्रो पूर्ण बैठकमा आज उहाँले भावनात्मक रूपमा अझै पनि पार्टी एकता पूर्ण नभएको बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रदेश नं ५ इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “सङ्गठनतात्मक एकता भए पनि विचार, कार्यशैली र व्यवहारमा अझै एक हुन बाँकी रहेको छ, एकता बलियो बनाउन म सबैलाई आग्रह गर्दछु ।”

मुख्यमन्त्री पोखरेलले अहिले नेपाली काङ्ग्रेसले बोकेको उदार पूँजीवाद र नेकपाले बोकेको जनताको जनवादबीच प्रतिस्पर्धा रहेको भन्दै जनताको जनवादबाट समाजवाद स्थापना गर्ने नेकपाको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

“उदार पूँजीवादले हुने खानेको मात्रै विकास हुन्छ, जनताको जनवादले आम नेपाली सर्वहारा वर्गको उन्नति हुन्छ र खुशी प्रदान गर्दछ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकारलाई असफल पार्न सरकारको राम्रा कामको समेत नकारात्मक टिप्पणी गरेर विपक्षीले भ्रम सिर्जना गरिरहेकाले तथ्य बुझेर मात्र आफ्नो धारणा बनाउन म आग्रह गर्दछु ।”

यसैगरी नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सहइञ्चार्ज बैजनाथ चौधरीले सरकारका कामको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहनुभएका चौधरीले भन्नुभयो, “सरकारले नागरिकको खुशीसँग जोडेर काम गरिरहेको छ, तर अनेक भ्रम सिर्जना गर्ने काम भइरहेकाले पार्टीका हरेक सदस्यले त्यसको प्रतिवाद गर्नुपर्छ ।”

यसैगरी नेकपा प्रदेश ५ कमिटी अध्यक्ष एवं पूर्वसभामुख ओनसरी घर्तीले समाजवाद हुँदै साम्यवाद स्थापना गर्न दुई कम्युनिष्ट पार्टीबीच एकता गरिएको उल्लेख गर्दै पार्टीले अघि सारेको समाजवादोन्मुख जनताको जनवादले समृद्धि हासिल हुने बताउनुभयो । “पार्टीको सङ्गठनात्मक एकता सकिएलगत्तै हामी समाजवादोन्मुख जनताको जनवादको विषयमा व्यवस्थित वैचारिक बहस चलाउनेछौँ”, उहाँले भन्नुभयो । दुई पार्टीबीचको एकतामा फाटो ल्याउने चौतर्फी प्रयास भइरहेको भन्दै उहाँले सचेत रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले नेपालमा समाजवाद स्थापना गर्नका लागि नै पार्टी एकता गरिएको बताउनुभयो । नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारीले बैठकबाट नेताहरुको कार्यविभाजन गरिने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>