चितवन विशेष

तराईको लुक्ला भनिने भरतपुर विमानस्थल विस्तारको प्रक्रिया सेलायो

Banner

चितवन,असार २७-

तराईको लुक्ला भनेर चिनिने निकै जोखिमपूर्ण मानिएको भरतपुर विमानस्थल विस्तारको प्रक्रिया तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनसँग सेलाएको छ । अधिकारी आफैँ भरतपुर आएर सरोकारवालासँग छलफल गरी तत्काल विमानस्थल विस्तारका लागि गृहकार्य अघि बढाउन निर्देशन दिनुभएको थियो ।

अधिकारीले प्रक्रिया अगाडि बढाइरहेको बेला फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी उहाँको निधनसँगै विमानस्थल विस्तार प्रक्रिया सेलाएको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार मन्त्री अधिकारीले विमानस्थललाई विस्तार गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण स्थानीय तहमार्फत पठाउन निर्देशन दिनुभएको थियो ।

सोहीअनुरुप कार्यालयले भरतपुर महानगरपालिकालाई आवश्यक धावनमार्गका बारेमा खुलाएर पठाइएको थियो । सोही पत्रका आधारमा महानगरपालिकाले पर्यटन मन्त्रालयमा कार्यपालिकाको बैठकले निर्णय गराई पठाएको थियो । भरतपुर महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा नेपाली सेनालाई अन्यत्र स्थान दिन सकिने जनाएको छ ।

महानगरपालिका प्रमुख रेणु दाहालले विमानस्थल विस्तारको प्रक्रियामा सोझै मन्त्री अधिकारीसँग छलफल गरी काम अघि बढाएको जनाउनुभएको थियो । भरतपुर विमानस्थलको अहिलेको धावनमार्ग एक हजार २०० मिटर लामो छ । जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र बिजुलीका पोल÷तार भएकाले पूरै क्षेत्र जहाजले लिन पाउने अवस्था छैन । जसका कारण लुक्लामा झैँ छोटो ठाउँमा एक्कासि अवतरण गर्नुपर्ने बाध्यता छ । जसका कारण जहाजभरि यात्रु राख्नसमेत नसकिएको विमान कम्पनीले जनाउँदै आएका छन् ।

धावनमार्गसँग जोडिएको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेमा ६०० मिटर धावनमार्ग थप गर्न सकिने गौतमले बताउनुभयो । जसले गर्दा सुरक्षित तवरबाट ७२ सिटका जहाज अवतरण गर्न सकिने गौतमको भनाइ छ । महानगर प्रमुख दाहालले अब मन्त्री नियुक्त भएसँगै अघि बढेको प्रक्रियालाई गति दिने बताउनुभयो । भरतपुरबाट काठमाडौँ र पोखरा हवाई सेवा रहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>