Breaking News
मलेसिया जाने कामदारलाई ठगी गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं ,कात्तिक ३-
मलेसिया जाने नेपाली कामदारलाई ठगी गरेको आरोपमा प्रहरीले दुई जना पुर्वमन्त्रीसहीत ६ जनालाई पक्राउ गरेको छ ।
सरकारले तोकेकोभन्दा बढी रकम असुली गरेको आरोपमा उनीहरुलई प्रक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई प्रक्राउ गरेको हो ।
त्यस्तै, ब्युरोले मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ प्रक्राउ गरेको छ ।
सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले मलेसिया जाने कामदारबाट सरकारले तोकेको रकमभन्दा अतिरिक्त १०० रिङ्गिट उठाइएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
उनले भने, ‘मलेसियामा कामदार पठाउने बेलामा जुन उठाउनु पर्ने भन्दा बाहेकको रकम उठायो भन्ने विषयमा अनुसन्धान हुँदैछ । कामदार त्यो १०० रिङ्गिट एक्स्ट्रा उठायो भन्ने छ, जुन सरकारले तोकेको भन्दा बढी रकम रहेको छ । अहिले अनुसन्धानको लागि हामीले उहाँहरुलाई नियन्त्रणमा ल्याएका हौँ ।’
उनका अनुसार कामदारबाट अतिरिक्त रकम उठाउने निर्णय प्रक्रियामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता रहेको देखिएकाले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
उनले सरकारले तोकेको रकमभन्दा बढी रकम असुली गर्ने विषयमा निर्णय प्रक्रियामा सहभागी भएकाहरूको भूमिकाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
पक्राउ परेका सबै जना हाल सीआईबीको नियन्त्रणमा रहेको र प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।
























