Breaking News

विपद्सम्बन्धी सूचना स्थानीय तहदेखि केन्द्रसम्म एकीकृत गर्ने प्राधिकरणको योजना

०
Banner

काठमाडौँ, मंसिर १ –

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकीकृत विपद् सूचना प्रणालीलाई स्थानीय तह र जिल्लासम्म विस्तार गर्ने योजना अघि बढाएको छ ।

टर्किएमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज आयोजित एक प्यानल छलफलमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्राधिकरणले व्यवस्थापन गरिरहेको एकीकृत डाटा पोर्टलमा सबै प्रकारका जोखिम तथा विपद्सम्बन्धी सूचना एकीकृत गरी बृहत् विपद् सूचना प्रणाली निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

‘अनुकूलन र क्षति तथा नोक्सानीका लागि अझ राम्रो दिगो विकास लक्ष्यसम्बन्धी तथ्याङ्क’ विषयक छलफलमा कार्यकारी प्रमुख डा उप्रेतीले विपद् पोर्टलमार्फत नेपालमा हुने अधिकांश प्रकोपको जानकारी तथा तथ्याङ्क प्राप्त गर्न सकिने र ती तथ्याङ्क निर्णय सहयोग प्रणाली (डिसिजन सपोर्ट सिस्टम–डिएसएस) मा प्रयोग भइरहेको जानकारी दिनुभयो ।

कार्यकारी प्रमुख डा उप्रेतीले स्थानीय तहमा सङ्कलन भएका विपद्सम्बन्धी तथ्याङ्क जिल्लामार्फत केन्द्रमा आउने गरेको उल्लेख गर्दै उक्त पोर्टल राष्ट्रिय अनुकूलन योजना (नेसनल एडाप्टेसन प्लान–एनएपी) कार्यान्वयनका लागि समेत उपयोग भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपद्को अवस्था थाहा पाउन र कुन प्रकोपबाट कति नागरिक प्रभावित भए भन्ने जानकारी प्राप्त गर्न पोर्टलको प्रयोग भइरहेको छ । आगामी दिनमा यसमा सेतु एपसमेत एकीकृत गरी बृहत् विपद् सूचना केन्द्र बनाउने योजना छ ।”

प्राधिकरणले सञ्चालन गरिरहेको विपद् पोर्टलमा विपद्का घटना, जोखिम तथा क्षतिसम्बन्धी विवरण उपलब्ध हुँदै आएको छ । आगामी दिनमा सेतु एपलाई यसमा जोडेर विपद्सम्बन्धी सूचना तथा तथ्याङ्क एकीकृत रूपमा उपलब्ध गराउने लक्ष्य प्राधिकरणले लिएको छ ।

दिगो विकास लक्ष्य (एसडिजी)प्याभिलियनमा आयोजित उक्त छलफलको आयोजना संयुक्त राष्ट्रसङ्घीय विपद् जोखिम न्यूनीकरण कार्यालय (युएनडिआरआर), विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)ले गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>