प्रवास
भ्रष्टाचार आरोपपछि मङ्गोलियाका राष्ट्रपति राजीनामा दिने तयारीमा

उलानबटोर, मङ्सिर १ –
विपक्षी दलले भ्रष्टाचारको आरोप लगाउँदै महाभियोग लगाउने चेतावनी दिएपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
विपक्षी डेमोक्रेटिक पार्टीले उहाँमाथि भ्रष्टाचारको आरोप लगाउँदै पद त्याग्न वा संसद्मा महाभियोगको सामना गर्न आह्वान गरेको एक दिनपछि राष्ट्रपतिले मङ्गलबार राजीनामाको घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा उहाँले आफूलाई झुटा आरोप लगाएर गम्भीर अपराधमा संलग्न भएको भन्दै बदनाम गरिएको बताउनुभयो । आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्न राजीनामा दिन लागेको उहाँको भनाइ थियो ।
“राज्य प्रमुखले आफ्नो जिम्मेवारी त्यागेर सत्य स्थापित गर्नु न्यायको हितमा हुन्छ भन्ने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।
उहाँले आफूले मङ्गोलियाको राष्ट्रपतिको जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुने घोषणा गर्दै आफ्नो प्रतिष्ठामा आँच पु¥याउनेहरूलाई सम्बन्धित निकायसमक्ष बुझाउने बताउनुभयो ।
डेमोक्रेटिक पार्टीले सोमबार देशमा गहिरो भ्रष्टाचार रहेको आरोप लगाउँदै राष्ट्रपति खुरेलसुखसहित वरिष्ठ सरकारी अधिकारीहरूलाई पदबाट राजीनामा दिन र अनुसन्धानको सामना गर्न आग्रह गरेको थियो ।
तर, राष्ट्रपतिले आफूले कुनै गलत काम नगरेको दाबी गर्नुभएको छ । पत्रकार सम्मेलनमा उहाँले आफ्नो कार्यकालमा जनता वा राज्यको सम्पत्ति कहिल्यै चोरी नगरेको बताउनुभयो । “मैले कहिल्यै झुट बोलेको वा चोरी गरेको छैन । कसैलाई धोका पनि दिएको छैन”, उहाँले भन्नुभयो ।
मङ्गोलिया पछिल्ला महिनादेखि राजनीतिक अस्थिरता र सत्तारूढ मङ्गोलियन पिपुल्स पार्टी ९एमपीपी० भित्रको आन्तरिक विवादबाट गुज्रिरहेको छ । भ्रष्टाचारविरुद्ध हप्तौँसम्म प्रदर्शन भएपछि मार्चमा सांसदहरूले एक वर्षभन्दा कम अवधिमा तेस्रो प्रधानमन्त्री नियुक्त गरेका थिए ।
राजधानी उलानबटोरमा हजारौँ युवाले धनी अभिजात वर्ग र आफूहरूले व्यापक अन्यायका रूपमा लिएको अवस्थाविरुद्ध प्रदर्शन गरेका थिए । रासस
























