प्रवास

इमरान खानलाई जेलमा यातना, उपचार र परिवारसँग सम्पर्क गर्न नदिएको छोराहरूको आरोप

०
Banner

लन्डन, मङ्सिर १ –

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोराहरूले जेलमा उहाँलाई शारीरिक तथा मानसिक यातना दिइएको आरोप लगाउँदै तत्काल उपचार र परिवारसँग सम्पर्कको व्यवस्था नगरिए ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिएका छन् ।

स्काई न्युजसँगको अन्तर्वार्तामा सुलेमान इसा खान र कासिम खानले आफ्ना ७४ वर्षीय बुबालाई अडियाला जेलमा दिनको २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र स्वतन्त्र चिकित्सकको पहुँचबाट वञ्चित गरिएको बताउनुभयो । उहाँहरूको दाबीअनुसार खानको रक्तचाप करिब १९३ पुगेको छ र तत्काल उपचार आवश्यक छ ।

छोराहरूले सर्वोच्च अदालतले गत अगस्ट १८ मा खानलाई सिफा अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउन तथा परिवारसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न दिएको आदेश कार्यान्वयन नभएको आरोप लगाएका छन् । खानले पनि हालै सार्वजनिक गर्नुभएको खुला पत्रमा रक्तचाप १९२ देखि १९३ पुगेको, मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको तथा दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको उल्लेख गर्नुभएको छ । उहाँले सन् २०२५ डिसेम्बर २० देखि दैनिक २२ घण्टा एकान्त कारावासमा राखिएको र भेटघाट तथा कानूनी परामर्शमा प्रतिबन्ध लगाइएको बताउनुभएको छ ।

छोराहरूले बुबासँग अन्तिम पटक गत मार्च २२ मा फोनमा कुरा गरेको र सन् २०२२ नोभेम्बरयता व्यक्तिगत रूपमा भेट्न नपाएको बताएका छन् । हत्याको प्रयासमा गोली लागेर घाइते भएको केही समयपछि सन् २०२३ अगस्टमा खान पक्राउ पर्नुभएको थियो ।

अदालतको आदेशअनुसार खानलाई निजी अस्पतालमा सार्नुपर्ने भए पनि अधिकारीहरूले उहाँलाई राज्यद्वारा सञ्चालित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा केही समय राखेर पुनः जेल फर्काएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षा चुनौतीका कारण यस्तो गरिएको बताउनुभएको थियो भने पिटिआईले उक्त तर्क अस्वीकार गरेको छ ।

खानले जेलमा रहेकी पत्नी बुशरा बीबीको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त गर्नुभएको छ । सन् २०२५ जनवरीदेखि जेलमा रहेकी बुशरा बीबीले गत अप्रिलमा आँखाको जटिल शल्यक्रिया गराउनुभएको र उहाँको दृष्टि स्थायी रूपमा गुम्न सक्ने जोखिम रहेको खानको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>