देश/प्रदेश
तिहारमा दियो र हुक्कापाती बेचेर आत्मनिर्भर बन्दै कुमाले महिला

सप्तरी, कात्तिक १६-
तिहार नजिकिएसँगै जिल्लाका विभिन्न गाउँका कुमाले महिला दियो र हुक्कापाती बेचेर खर्च जुटाउने प्रयास गरिरहेका छन् । ती कुमाले महिला दीपावली अर्थात् लक्ष्मी पूजामा बाल्न राजविराज क्षेत्रका घरघर पुगेर आफ्ना उत्पादन दियो र हुक्कापाती बिक्री गर्ने कार्यमा व्यस्त रहेको पाइएको छ ।
ती समुदायका विपन्न महिला दीपावलीको खर्च जुटाउन घरघर गएर हुक्कापाती बिक्री गरिरहेका राजविराज नगरपालिका–११ कविता यादवले बताउनुभयो । उनीहरुले तिहार आउनु केही समयअघि देखि नै हुक्कापाती दियो बनाउने अनि त्यसबाट प्राप्त रकमबाट तिहारको खर्च जुटाउने विगतदेखिकै अभ्यास रहेको उहाँले बताउनुभयो ।
मजदुरी गरी परिवार पाल्दै आएकाले ती समुदायका महिलाले चाडबाडमा खर्च जुटाउन हुक्कापातीलाई आयआर्जन प्रमुख माध्यम बनाइरहेको देखिन्छ । दुई हजारको सामानबाट हुक्कापाती बनाएर बिक्री गर्दा रु १५ हजारसम्म सकिने उहाँहरुको भनाइ छ ।
कुमाले समुदायले दियो र हुक्कापाती बनाएर घरघरमा पु¥याएपछि सहरका उपभोक्तालाई त्यसका लागि आवश्यक सामाग्री जुटाएर तयार पार्ने समस्या र बाध्यता हटेको छ । हुक्कापातीका लागि सन्ठी, खर र सनपाट घरमा ल्याएर घण्टौँ लगाएर बनाउने गरिन्छ ।
विगतमा घरघरमा बनाइने हुक्कापाती अहिले विशेषगरी सहरी भेगमा किनेर प्रयोग गर्न थालेको राजविराज नगरपालिका–७ का उर्मिला देवले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले बजारमा बनाएको हुक्कापाती किन्न पाइँदैनथ्यो । सन्ठी, खर र सनपाट किनेर ल्याएर घरघरमा बनाइने चलन थियो । तर, अहिले सहरी क्षेत्रमा हुक्कापाती बनाउने चलन हराउँदै गएको छ । हाल किनेर प्रयोग गर्ने परम्परा बढेको छ ।”
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका तोपाकी रूकमिणी यादवलाई एक हप्ता यता हुक्कापाती बनाउन भ्याइनभ्याई छ । घरको काम सकेर दिनहुँ बनाएको हुक्कापाती बेचेर तिहारमा रु १५ देखि २० हजार आम्दानी गर्दै आएको छ । उहाँले भन्नुभयो, “जति लक्ष्मीपूजा नजिकिँदै जान्छ त्यति बिक्री हुने गरेको छ । दिनको ३०० देखि ५०० हुक्कापाती बिक्री हँुदै आएको छ । रु १० देखि २० प्रतिहुक्कापाती बेच्दै आएकी छु ।” उहाँले प्रत्येक वर्ष एक महिना उक्त काम गर्दै आउनुभएको छ ।
लक्ष्मी पूजाको दिन पूजा हुनुअघि घरमाथि, तुल्सामोठ, कुलदेवताको कोठा तथा मन्दिरमा मधेसमा हुक्कापाती राख्ने चलन छ । लक्ष्मीपूजा सकिएसँगै प्रत्येक घरपरिवारमा हुक्कापाती अनिवार्य खेल्ने परम्परा छ । त्यस कार्यले कुल पितृ उज्यालो मार्गमार्फत स्वर्गमा जान्छन् भन्ने जनविश्वास छ ।
त्यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाकी कविता पण्डित यतिबेला माटोको दियो बनाउने कार्यमा व्यस्त हुनुहुन्छ । घरको काम सकेर दियो बनाउने अनि घरघरमा गएर दियो बेच्दै आउनुभएको उहाँले बताउनुभयो । तराई मधेसमा माटो भाँडाको तिहारदेखि छठभित्र राम्रो बिक्री हुने गरेको छ ।
उहाँ प्रत्येक दिन दुई हजारको सङ्ख्यामा दियो बोकेर बजार जाने र प्रतिदियो रु दुईमा बेच्दै आउनुभएको छ । श्रीमती पण्डितले यस याममा रु २० देखि ४० हजारसम्म कमाइ गर्दै आउनुभएको छ ।
























