राजनीति

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छः वरिष्ठ उपसभापति शर्मा

०
Banner

ललितपुर, कात्तिक १२-

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आज आयोजित पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणपश्चात् मन्तव्य राख्नुहुँदै वरिष्ठ उपसभापति शर्माले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको हो ।

“नेपाली कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आएको छ, बलियो कांग्रेस बनाएर समृद्ध नेपालको अभियानमा लाग्नुपर्छ, दौडिएर पसिना बगाउनु मात्रैलाई काम भन्न सकिँदैन, काम हुनका लागि परिवर्तन र उपलब्धि आवश्यक छ, हामी मिडियामैत्री र सामाजिक सञ्जालमैत्री पनि बन्न जरुरी छ, कांग्रेस देशलाई पहिलो केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने पार्टी हो,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले पार्टीको संस्थागत कार्यशैली र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएर अवको समयलाई विसङ्गतिलाई अन्त्य गर्ने सामाजिक रुपान्तरणको दशकका रुपमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै शपथ ग्रहणका क्रममा पद र प्रमाणपत्र प्राप्त गर्नुलाई मात्र जिम्मेवारी नठानी पार्टीको गौरवशाली इतिहासअनुसार वर्तमानलाई जिम्मेवार तथा भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले महाधिवेशनमा विजयी भएका नेताहरूले आफूलाई मत दिने प्रतिनिधिको विश्वासको सम्मान गर्नुपर्ने र पराजित उम्मेदवार तथा निर्वाचनमा सहभागी हुन नपाएका पार्टीका अन्य नेता–कार्यकर्तालाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“निर्वाचनमा भएका तीतामीठा अनुभव बिर्सेर कांग्रेसलाई एकताबद्ध र सशक्त बनाउनु नयाँ नेतृत्वको साझा दायित्व हो, जलवायु परिवर्तनको असरविरुद्ध क्रियाशील हुन सरकारको साथमा रहेर काम गर्नुपर्ने छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपसभापति शर्माले पार्टीको कामलाई प्रभावकारी बनाउन व्यक्तिगत रूपमा धेरै दौडधुप गर्नुभन्दा संस्थागत योजना र समन्वयअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । केन्द्रले तय गरेका योजना र निर्देशनलाई आत्मसात् गर्दै सङ्गठनका कमजोरी सुधार गर्ने तथा आगामी चुनौतीको सामना गर्ने गरी काम गर्नुपर्ने भन्दै उहाँले देश र नागरिकको हितलाई पार्टीगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनका कारण उत्पन्न विपद् तथा नागरिकले भोगिरहेका सङ्कटप्रति सरकार र जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउँदै उहाँले विपद्बाट प्रभावित परिवारको पीडा स्मरण गर्दै जोखिम न्यूनीकरण, नागरिकको जीवनरक्षा तथा जनजीविकामा सुधार ल्याउन विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

कांग्रेसप्रतिको समर्पणलाई देश र जनताको सेवासँग जोड्नुपर्ने उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले पार्टीको जिम्मेवारी सम्हाल्ने सबैले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>