राजनीति
राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम

काठमाडौँ,असोज १५ –
सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै निर्वाचित सदस्यतर्फको रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम उपनिर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्याइने बताउनुभयो ।
मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनित सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताउँदै संसद्का सदस्यको पद रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार आगामी दिनमा सङ्घीय संसद्, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि गर्नुपर्ने सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै प्रारम्भ गरिनेछ । रासस

























