राजनीति
प्रधानमन्त्रीले जेनजी सांसदहरूलाई भन्नुभयोः नवीन सोचका साथ आफ्नै पुस्ताका लागि काम गर्नुहोस्

काठमाडौँ, असोज २ –
प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरेर काम आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गर्नुभयो ।
यसका लागि उहाँले स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिनुभयो ।
साथै, राजनीतिलाई पेसा नबनाइ आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्दै दीर्घकालीनरूपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिलाई कमाउने माध्यम बनाउनुहुँदैन, त्यसैले सांसदहरू अरु नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ, सांसदको भूमिका सकिएपछि तपाईंहरूलाई अब आम्दानीको बाटो केही पनि छैन भनेर चिन्ता गर्न नपरोस, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यवसाय पनि सुरु गर्नुहोस् ।”
अन्तरक्रियामा सहभागी जेनजी उमेरका सांसदहरूले प्रधानमन्त्री शाहको यो आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँहरूले जेनजी आन्दोलनका सहिद र घाइते, जेनजी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्ति, कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सूचना तथा प्रविधिका साथै आफ्ना निर्वाचन क्षेत्र केन्द्रित मुद्दाहरू प्रधानमन्त्रीसमक्ष राख्नुभएको थियो ।
अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शङ्कर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेती सहभागी हुनुहुन्थ्यो । रासस
























