राजनीति

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

Banner

काठमाडौँ, भदौ २५ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओलीले भोटेकोशी बाढी विपद्मा दलीय राजनीतिभन्दा माथि उठेर नागरिकको जीउधनको रक्षा र एकीकृत उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै सङ्कटको यो घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी राज्यका सबै संयन्त्र नागरिकको पीडामा साथ उभिनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख सचेतक ओलीले अस्थायी आश्रयस्थलमा बसोबास गरिरहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भन्दै मधुमेह, उच्च रक्तचाप र क्यान्सरजस्ता रोगका बिरामीका लागि आवश्यक नियमित औषधि र विशेष स्वास्थ्य टोली खटाउन स्वास्थ्य मन्त्रालयसँग आग्रह गर्नुभयो ।

सांसद ओलीले भन्नुभयो, “विपद्का बेला महिला, गर्भवती, सुत्केरी तथा किशोरीहरूले भोग्नुपर्ने सरसफाइ, गोपनीयता, यौन तथा लैङ्गिक हिंसाजस्ता जोखिम न्यूनीकरणका लागि प्रजनन स्वास्थ्य र सरसफाइ सामग्रीको वितरणलाई राहत कार्यक्रममा बढी ध्यान दिनुपर्छ ।”

नेपालले भोगिरहेको वातावरणीय सङ्कटबारे अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्दा स्पष्ट रणनीति र यथार्थपरक आँकडासहित जानुपर्नेमा ओलीले जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घको आगामी महासभामा नेपालको सहभागितालाई लक्षित गर्दै कूटनीति भावनामा मात्र होइन, अन्तरराष्ट्रिय कानुन, तथ्य र प्रमाणमा आधारित रणनीतिक हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

साथै उहाँले जलवायु परिवर्तनको असरलाई देखाएर आन्तरिक शासकीय र प्रशासनिक कमजोरी ढाकछोप गर्न नमिल्ने तर्क प्रस्तुत गर्दै प्राकृतिक बहाव मिचेर निर्मित भौतिक संरचना, अव्यवस्थित सहरीकरण र वातावरणीय मापदण्डको उल्लङ्घनले विपद्को जोखिम बढाएको तर्क गर्नुभयो ।

“जलवायु न्यायको कुरा गर्दा बाह्य निकायलाई मात्र दोषी देखाएर पुग्दैन, विगतका विपद्बाट पाठ नसिक्नु र पूर्वसूचना तथा समन्वयमा देखिएको कमजोरीको जवाफदेहिता देशभित्रैबाट सुरु हुनुपर्छ”, उहाँले भन्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>