देश/प्रदेश
आर्थिक अभावमा सडकमा बच्चा जन्माउनु परेको अवस्थाबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ, भदौ २५-
प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा एक महिलाले आर्थिक अभावमा अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनु परेको अवस्था बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उहाँहरूले नेपालको संविधानले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको व्यवस्था गरेको भए पनि मुलुकमा यस्तो अवस्था आउनु दुःखद भएको टिप्पणी गर्नुभयो ।
बैठकमा सांसद खगेन्द्र कर्णले राजविराजमा एक महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाको यथार्थका बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभयो ।
सांसद अङ्किता ठाकुरले पनि राजविराजमा महिलाले आर्थिक अभावका कारण अस्पताल परिसरमा बच्चा जन्माउनु परेको अवस्थाले राज्य प्रणालीको कुरूप अवस्था चित्रण गरेको उल्लेख गर्नुभयो । साथै उहाँले यसबाट संविधानको मौलिक अधिकार हनन भएको बताउनुभयो ।
सांसद धनबहादुर बुढाले भोटेकोशी बाढीले डोल्पालाई पनि प्रत्यक्ष छोएको र सुरुङमा काम गर्ने जिल्लाका स्थानीय नागरिक सम्पर्कविहीन भएकाले खोजीमा तीव्रता दिन र यथार्थ अवस्थाका बारेमा परिवारलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद कालिबहादुर सहकारीले कालीकोटमा पहिरोबाट प्रभावित जनताको बारेमा अवगत गराउँदै उद्धार र राहतका लागि सरकारसँग आग्रह गर्नुभयो । साथै उहाँले कर्णाली राजमार्गको स्तरोन्नति नहुँदा स्थानीय जनताले यात्रामा कठिनाइ भोग्नु परेको जानकारी गराउनुभयो ।
सांसद गङ्गालक्ष्मी अवालेले भोटेकोशी बाढीको उद्धारमा खटिएका जनशक्तिहरूका लागि सामग्री अभाव हुँदा प्रभावकारी काम गर्न नसकेको देखिएकाले सकेसम्म त्यस्ता सामग्री आपूर्ति गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद प्रेमबहादुर बयकले जनताले ग्यासको अभावमा आत्महत्या प्रयास गर्नुपरेको अवस्था देखिएको बताउँदै तत्काल समाधानका सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद माधवबहादुर थापाले पाल्पाका स्थानीय कामका लागि अर्घाखाँचीमा गएका र एक प्रतीक्षालयमा बसेका बेला कुटपिटमा परेको जानकारी दिँदै निष्पक्ष छानबिनको माग गर्नुभयो ।
सांसद रामविनोद यादवले भोटेकोशीको बाढीमा निधन भएकाप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गर्दै सो घटनामा परी बेपत्ता हुनुभएका धनुषाका इन्जिनियर अजयप्रसाद सिंहको वास्तविक स्थितिबारे जानकारीका लागि बारेमा पहल गरिदिन आग्रह गर्नुभयो ।
सांसद योगेश गौचन थकालले यही भदौ २३ गते राति मुस्ताङ केन्द्रविन्दु भइगएको भूकम्पपछि आठ पटक धक्का महसुस भएको र भौतिक संरचना तथा ३०० भन्दा बढी घरमा सामान्य क्षति भएको जानकारी गराउँदै प्रभावितका लागि तत्काल राहतको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद कविन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा परी गोरखाका बेपत्ता नागरिकका परिवार आज प्रतीक्षामा रहेको बताउँदै सरकारबाट खोज, उद्धार र राहतका काम भएका तथा थप प्रभावरकरी बनाउन आग्रह गर्नुभयो ।
सांसद बोधनारायण श्रेष्ठले ग्यासको समस्या यथावत् रहेको र वितरण प्रणालीमा समस्या देखिएको बताउनुभयो । सरोकारवाला राखेर प्रत्यक्ष प्रसारण गरे समस्या कहाँ छ भनेर जानकारी हुने बताउँदै उहाँले उपभोक्ताले पनि धेरै ग्यास जम्मा गरेर राख्दा समस्या भएकाले त्यसमा उपभोक्ताले पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।रासस
























