राजनीति
भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन एकजुट हुनुपर्नेमा सांसदको जोड

काठमाडौँ, भदौ २४ –
राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन एकजुट हुनुपर्नेमा सांसदको जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन राजनीतिक दल तथा सबै पक्ष एकजुट हुनुपर्ने, ‘जेन्जी आन्दोलन’का उपलब्धिलाई संस्थागत गर्नुपर्ने तथा विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
सांसद पदमबहादुर परियारले भ्रष्टाचारविरुद्धको अभियानलाई सफल बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिँदै प्रतिशोध नभई न्यायको आवश्यकता रहेको बताउनुभयो । उहाँले ‘जेन्जी आन्दोलन’का उपलब्धिलाई संस्थागत गर्दै युवालाई विदेशिन बाध्य हुने अवस्था अन्त्य गरी स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले नेपाली नागरिकलाई खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै भोटेकोशी बाढीमा बेपत्ता नागरिकको खोजी कार्य तीव्र पारेर परिवारलाई ‘लाश वा सास’को यथार्थ जानकारी दिनुपर्ने बताउनुभयो । समुन्नत मुलुक निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा पुनःस्थापना तथा दिगो पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले इतिहासकै भयावह विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै पूर्वसूचनाको अभाव तथा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरणको कमी देखिएको बताउनुभयो । भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै समयमै सचेत गराउने व्यवस्था गर्नुपर्नेमा सांसद अधिकारीले जोड दिनुभयो ।
बाढी तथा अन्य विपद्का समयमा नेपाली सेना र सुरक्षा निकायका सुरक्षाकर्मीले अहोरात्र उद्धारमा खटिएर महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उहाँले धन्यवादसमेत दिनुभया । “व्यवस्थित तथा खोजमूलक उद्धार कार्यलाई निरन्तरता दिनुपर्ने, क्षतिको यथार्थ मूल्याङ्कन गर्नुपर्ने तथा प्रभावित व्यवसाय पुनःसञ्चालनका लागि राहतसँगै सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्छ,” अधिकारीले भन्नुभयो ।
सांसद अधिकारीले आगामी दिनमा आउन सक्ने महाविपद्को प्रतिकार्यका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने र पूर्वतयारी तथा विपद् जोखिम न्यूनीकरणमा लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपाल बहुप्रकोपीय उच्च जोखिममा रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण जलवायुजन्य विपद्ले जनधनको क्षति बढाइरहेको बताउनुभयो । हिमालको हिउँ पग्लिने क्रम बढिरहेको र हिमतालमा पानीको मात्रा तथा जोखिम बढ्दै गएको भन्दै समयमै सचेत हुने र जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका विषयमा अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायका लागि सशक्त आवाज उठाउनुपर्ने उहाँको भनाइ छ ।
सांसद प्रेमप्रसाद दङ्गालले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दै गएको तथा चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने ग्यासको चरम अभाव देखिएको भन्दै सहज आपूर्ति र वितरणका लागि सरकारले तत्काल ध्यान दिनुपर्ने बताउनुभयो । रासस
























