देश/प्रदेश
जेनजी युवाहरू सत्ता पल्टाउन होइन, सुशासन माग्दै सडकमा आएका थिए: मन्त्री गौतम

काठमाडौं, भदौ २३-
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी आन्दोलनका क्रममा युवाहरू सत्ता परिवर्तन वा कसैको कुर्सी खोस्न नभई सुशासनको माग गर्दै सडकमा आएको बताएकी छन् ।
जेनजी सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले भदौ २३ गतेको घटनालाई भदौ २४ गते भएको घटनासँग एउटै दृष्टिले हेर्न नहुने बताइन् ।
उनले भनिन्, ‘मैंले आजको दिन अर्थात ठ्याक्कै एक वर्ष अगाडि सम्झिएँ । जतिबेला देशमा तत्कालीन नेतृत्व गरिरहेको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने, जनतालाई झन झन् अप्ठ्यारो पार्ने काम गरिरहेको थियो । त्यतिबेला जनतामा एक प्रकारको आक्रोश पैदा भइरहेको थियो ।’
त्यतिबेला आफूहरू संसद् भवनभित्रबाट सरकारलाई प्रश्न गरिरहेको र केही साथीहरू सडकबाट आन्दोलन गरिरहेको उनले बताइन् । २०७९ सालको निर्वाचनबाट निर्वाचित भएर संसद्मा पुगेका जनप्रतिनिधिका रूपमा संसद्को माध्यमबाट आफ्ना आवाज राखिरहेको उनको भनाइ थियो ।
भदौ २३ गते आन्दोलन गर्ने सूचना आफूले देखेको उल्लेख गर्दै गौतमले जेनजी युवाहरूले आन्दोलनलाई गैरदलीय बनाउन स्पष्ट आग्रह गरेको बताइन् । राजनीतिक दलहरूले आन्दोलनमा कुनै रंग नदिन र आफ्ना राजनीतिक एजेन्डा नघुसाउन उनीहरूले आग्रह गरेको उनले स्मरण गरिन् ।
जेनजी आन्दोलनलाई नागरिक आन्दोलनका रूपमा लिनुपर्ने आफ्नो धारणा रहेको पनि गौतमले बताइन् । आफू दलबाट निर्वाचित भएको व्यक्ति भएकाले दलको रंग नदिन आग्रह गरिएको आन्दोलनमा सहभागी हुनुभन्दा त्यसलाई नागरिक आन्दोलनका रूपमा छोड्नुपर्ने मत आफूले राखेको उनको भनाइ थियो ।
उनले भदौ २३ गतेअघि पनि नेपालमा केही छिटपुट आन्दोलनहरू भएको स्मरण गराइन् । चैत १५ गते तीनकुनेमा भएको आन्दोलन पनि नागरिकहरूले आवाज उठाएको आन्दोलन भएको र त्यहाँ गोली चल्दा मानिसहरू ढलेको उनले बताइन् ।
‘जसरी युवाहरू सुशासनको आवाज लिएर सडकमा आउनुभएको थियो, कसैले पनि आन्दोलनमा गएर आफ्ना छोराछोरीले ज्यान गुमाउँछन् होला भनेर सोचेका थिएनन्,’ उनले भनिन्, ‘युवा साथीहरूले पनि यो आन्दोलनमा गएर देशका लागि बलिदानी दिन्छु भनेर सायद सोच्नुभएको थिएन होला । यो आन्दोलनमा मरिन्छ भनेर कसैले कल्पना गरेको थिएन ।’
सुशासनको माग गर्दै गरिएको आन्दोलन मर्नुपर्ने आन्दोलन नभएको उनको भनाइ थियो । राजनीतिक अधिकार र लोकतन्त्रका लागि नेपालमा पटक–पटक आन्दोलन भए पनि लोकतन्त्र प्राप्तिपछि नागरिकले आफ्ना आवाज राख्न पाउने विश्वासका कारण युवाहरू ढुक्क भएर सडकमा आएको उनले बताइन् ।
‘युवा साथीहरू सुशासनको पक्षमा आवाज उठाउँदै आउँदाखेरि गोली चल्यो । लोकतन्त्रमा पनि गोली चल्दो रहेछ भन्ने कुरा त्यो दिन पहिलो पटक महसुस भयो,’ उनले भनिन् ।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सहिद परिवारलाई राज्य र समाजले साथ दिनुपर्ने बताउँदै गौतमले सहिदहरूका विचार र योगदान दीर्घकालसम्म जीवित रहने उल्लेख गरिन् ।
‘मानिस जन्मिन्छ, जन्मेपछि एक दिन सबैले धर्ती छोडेर जानुपर्छ । ढिलो–चाँडोको कुरा मात्रै हो । तर जो सहिद भएर जानुभयो, अमर भएर जानुभयो । सबै मानिसले अमर हुने त्यो सौभाग्य पाउँदैनन्,’ उनले भनिन् ।
जेनजी आन्दोलनपछि घटनाबारे विभिन्न व्यक्तिका आ–आफ्ना विचार र धारणा भए पनि भदौ २३ गते र २४ गतेका घटनालाई एउटै आँखाले हेर्न नहुने उनले बताइन् ।
उनका अनुसार भदौ २३ गते युवाहरू कसैको कुर्सी खोस्न नभई आफ्ना आवाज सरकारसम्म पुर्याउन र सरकारले आफ्ना माग सुन्छ भन्ने विश्वासका साथ सडकमा आएका थिए ।
‘जनताको विश्वासमाथि घात भएको दिन हो भदौ २३ । त्यसकारण २३ गते र २४ गतेलाई एउटै आँखाले हेर्नु हुँदैन । २३ गते हाम्रा युवाहरू रेटिएका हुन्, मरेका हुन्, गोली हानिएको हो,’ उनले भनिन् ।
























