देश/प्रदेश
प्रतिनिधिसभाः बाढीबाट बेपत्ता भएकाको खोजी र सुरुङमा फसेकाको चाँडो उद्धार गर्न आग्रह

काठमाडौँ, भदौ १८-
सांसदहरूले भोटेकोशी–त्रिशूली नदीमा बेपत्ता आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारप्रति दुःख व्यक्त गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा आफ्ना धारणा राख्ने अधिकांश सांसदहरूले बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँहरूले घरबारविहीन तथा विस्थापित नागरिकको उचित व्यवस्थापन गर्दै खोजी, उद्धार, राहत र पुनःस्थापनामा राज्यका सबै संयन्त्र परिचालन गर्न सभामुखमार्फत सरकारसँग आग्रह गर्नुभयो ।
सांसद गुरूप्रसाद बराल, सिर्जना श्रेष्ठ, ऐनबहादुर महर, गोपाल शर्मा, हरिमोहन भण्डारी, सोम शर्मा, एशुदाकुमारी अर्याल, रेखाकुमारी यादव, हरिनादेवी कामी, मनमाया विश्वकर्मा, सन्दीप राना, प्रेमबहादुर बयक, यज्ञबहादुर बोगटी, कृष्णहरि बुढाथोकी र बसुमाया तामाङले भोटेकोशी बाढीबाट बेपत्ता भएकाको खोजी तीब्र बनाउन आग्रह गर्नुभयो ।
त्यस्तै शाहजान खातुन, भरतबहादुर खड्का, केपी खनाल, ओजश्वी शेरचन, बुद्धिप्रसाद पन्त, बुद्धरत्न महर्जन, बलावती शर्मा, रमेशकुमार मल्ल, सिता थपलिया, खडकबहादुर बुढा र प्रकाशसिंह कार्कीले बेपत्ताको खोजी, जलविद्युत् आयोजना तथा सुरुङमा फसेकाको उद्धार, राहत, पुनःस्थापना, पूर्वसूचना तथा विपद् व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद गुरूप्रसाद बरालले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार, राहत तथा पुनर्निर्माण कार्यको निरीक्षण र अनुगमन गर्दै सरकारलाई सहजीकरण गर्न उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठनका लागि सभामुखमार्फत ‘रुलिङ’ गर्न माग गर्नुभयो ।
सांसद भरतबहादुर खड्काले बाढीमा परेर बेपत्ता नागरिकहरूको छिटोभन्दा छिटो खोजी गर्न सरकारसँग अनुरोध गर्नुभयो । उहाँले आवश्यक परे जुनसुकै मुलुकसँग सहयोग र सहायता लिएर नेपाली नागरिकको जीवन जोगाउन तथा तीनवटै सरकारबीच समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
सांसद केपी खनालले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको खोजी कार्य तीव्र पार्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ओजश्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने अवस्थातर्फ ध्यान दिन तथा प्रभावितलाई मनोपरामर्श सेवा उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद बुद्धिप्रसाद पन्तले भोटेकोशी नदीमा आएको बाढीपहिरोमा परी पर्सा जिल्लाबाट धेरै जना सम्पर्कविहीन भएकाले परिवारहरू ‘सास र आस’ दुवैको प्रतीक्षामा रहेको बताउँदै खोजी, उद्धार र राहतमा जुट्न आग्रह गर्नुभयो । बुद्धरत्न महर्जनले सम्पर्कविहीनहरूको खोजी तथा उद्धारमा तदारुकता देखाउन र चाडपर्व नजिकिँदै आएकाले विभिन्न राजमार्गका सडक मर्मतसम्भार गरी ढुवानी सहज बनाउन माग गर्नुभयो ।
सांसद बलावती शर्माले बाढीमा हराइरहेका आफन्तका परिवारप्रति सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले तीनवटै सरकारबीच समन्वय र सहकार्य गरी बाढी प्रभावितको उद्धार तथा राहतमा जुट्नुपर्ने बताउनुभयो ।
सांसद रमेशकुमार मल्लले भोटेकोशीको बाढीमा परी सल्यान जिल्लाका बालबालिकासहित ५२ जना सम्पर्कविहीन भएकाले आफन्तहरू सकुशल उद्धारको प्रतीक्षामा रहेको बताउँदै उद्धारमा तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले प्रभावितको गाँस, बास र कपासलगायत मानवीय आवश्यकताको परिपूर्ति र प्रबन्ध मिलाउन माग गर्नुभयो ।
सांसद सिता थपलियाले बाढी आएको आठ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय रहेको बताउँदै राज्यको पहिलो दायित्व आफ्ना नागरिकको जीवन जोगाउनु रहेको उल्लेख गर्नुभयो ।
सांसद खडकबहादुर बुढाले जलविद्युत् परियोजनामा फसिरहेका नागरिकको उद्धारमा सरकारले कुनै पनि कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । सांसद प्रकाशसिंह कार्कीले जलविद्युत्मा फसिरहेका नागरिकको उद्धारका लागि आवश्यक परे विदेशी मुलुकसँग सहायता र सहयोग लिएर उद्धार गर्नुपर्ने बताउनुभयो ।
सांसद ऐनबहादुर महरले उद्धारको माग गरिरहेका नागरिकलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । सांसद एशुदाकुमारी अर्यालले सुरुङभित्र फसेका नागरिक अझै जीवित हुनसक्ने भन्दै कुनै पनि बहानामा खोजी कार्यमा ढिलाइ नगर्न आग्रह गर्नुभयो ।
सांसदहरू रेखाकुमारी यादव र हरिनादेवी कामीले जलविद्युत् आयोजना तथा सुरुङमा खोजी र उद्धार कार्य तत्काल तीव्र बनाउन आग्रह गर्नुभयो । सांसद मनमाया विश्वकर्माले भविष्यमा विपद्बाट पर्न सक्ने जोखिम न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सन्दीप रानाले रसुवा–भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट हराइरहेकाहरूको खोजी तथा राहत र उद्धार कार्यमा तीव्रता दिन आग्रह गर्नुभयो । सांसद प्रेमबहादुर बयकले देशभर हुने सडक दुर्घटना न्यूनीकरणका लागि ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद यज्ञबहादुर बोगटीले पनि विपद् प्रभावितका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कृष्णहरि बुढाथोकीले विपद् आउनुअघि नै जीवन जोगाउने प्रविधिको विकास गर्नुपर्ने तथा विपद्को पूर्वसूचना र तयारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सांसद बसुमाया तामाङले अस्थायी सेल्टरमा गर्भवती, महिला तथा किशोरीका लागि सुरक्षित र मर्यादित व्यवस्था गर्नुपर्ने तथा ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । सांसद शाहजान खातुनले आठ दिन बित्दा पनि परिवारले आफन्त जीवित भए–नभएको जानकारी पाउन नसकेको बताउँदै सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।
सांसदहरू सिर्जना श्रेष्ठ, गोपाल शर्मा, हरिमोहन भण्डारी र सोम शर्माले पनि बाढी प्रभावित तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले बाढी प्रभावितको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन, महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावितलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

























