देश/प्रदेश
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको चेतावनी होः अध्यक्ष ओली

काठमाडौँ, भदौ १५-
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको बाढी एउटा विपद्को घटना मात्र नभई विश्वव्यापी वातावरणीय संकटको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भोटेकोशीको बाढीले विश्वव्यापी वातावरणीय संकट र हिमालको भविष्य संकटमा रहेको संकेत दिएको बताउनु भयो । अध्यक्ष ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीको घटनालाई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भायरमेन्टल फेनोमेनन’का रूपमा बुझ्न विश्व समुदायलाई आग्रह समेत गर्नुभयो । उहाँले नेपालले जलवायु तथा वातावरणीय संकटलाई केन्द्रमा राखेर तत्काल सगरमाथा संवाद आयोजना गर्नुपर्ने बताउनु भयो । उहाँले भोटेकोशी बाढीलाई दृष्टान्त बनाएर विश्वव्यापी वातावरणीय समस्या, पारिस्थितिक प्रणालीमा देखिएको खतरा, ग्लोबल वार्मिङ र हिमालको भविष्यबारे विश्वका नेता, वैज्ञानिक तथा विज्ञहरूबीच तत्काल छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ यो भोटेकोशीको बाढी होइन ग्लोबल फेनोमेनन र इन्भायरमेन्टल फेनोमेननमा यो एउटा गम्भीर धक्का दिएको हो । वार्निङ हो भनेर बुझ्नुपर्दछ । त्यसकारण यस वार्निङलाई त्यसैगरी बुझ्न म ग्लोवल समूदायलाई आग्रह गर्न चाहन्छु । मलाई लाग्छ नेपालले फेरि एकपल्ट यो विषयलाई केन्द्रमा राखेर सगरमाथा संवादको अविलम्व आयोजना गर्नुपर्दछ । माउन्टेन इस्यु यसलाई दृष्टान्त मानेर भोटेकोशीको बाढी यस शिर्षकमा सगरमाथा संवादले ग्लोबल इन्भायरमेन्टल इस्यु, इकोसिस्टममा आइरहेको खतरा, ग्लोबल वार्मिङको खतरा र अब हिमालको फ्युचर, हिमालको फ्युचर भनेको ग्लोबल इकोसिस्टमको फ्युचर । यी चीजहरूमाथि एउटा विश्वका नेताहरू र वैज्ञानिकहरू, विज्ञ, विशेषज्ञहरू जम्मा गरेर अविलम्ब एउटा गोष्ठी गर्नुपर्छ । बाढी त फेरि पनि आउँछ, आइरन्छ । फेरि पनि यो कुरा दोहोरिन सक्छ। यहाँ दोहोरिएन भने अर्को ठाउँमा दोहोरिन्छ ।’
हिमालको भविष्य नै विश्वव्यापी पारिस्थितिक प्रणालीको भविष्य भएकाले त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा गम्भीर छलफल आवश्यक रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल


























