राजनीति

रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती

Banner

काठमाडौं, भदौ १० –

नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पु¥याएको रसुवाका बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए।

आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।

उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरहेको बताए। धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको र टेलिफोन सेवा अवरुद्ध हुँदा परिवारजन त्रसित रहेको उनको भनाइ छ।

‘राम्रो अवस्था छैन, सोचेको र अनुमान गरेकोभन्दा पनि धेरै ठूलो क्षति भएको छ,’ आचार्यले भने, ‘धेरै परिवारका सदस्य सम्पर्कमा नआउँदा आफन्तहरू आत्तिनुभएको छ।’

रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको उनले बताए। अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गर्ने तयारी गरिएको बताए।

‘अहिले त्यहाँको भूगोलमा सडकबाट पुग्ने बाटो छैन,’ उनले भने, ‘हवाईमार्गबाट गएर कति उद्धार गर्न सकिन्छ र कसरी सहयोग पु¥याउन सकिन्छ भन्नेमा सरकार र सम्बन्धित निकाय लागिरहेका छन्।’

सरकारले विपद्पछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै आचार्यले सरकार र विपद् व्यवस्थापनमा खटिएका निकायलाई धन्यवाद दिए। सम्भावित उद्धारका लागि हेलिकोप्टर तथा अस्पताललाई तयारी अवस्थामा राखेर काम भइरहेको उनको भनाइ थियो।

बाढीको कारणबारे उनले तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्ट नै मुख्य कारण रहेको बताए। नेपालमा अत्यधिक वर्षा भएर नभई सीमापारिबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या नरहेको उनले बताए। तर प्रभावित क्षेत्रमै हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ।

आचार्यले विपद्को समयमा सबै नेपालीलाई एकजुट भएर प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरे। उनले राजनीतिक दल, संघसंस्था र आमनागरिकलाई बाढीपहिरो प्रभावितको पीडामा साथ दिँदै उद्धार, राहत र मानवीय सहयोगमा जुट्न अपिल गरे।

सरकारले रसुवाको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य तीव्र बनाउँदै जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>