देश/प्रदेश
‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’

कञ्चनपुर, भदौ ७-
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले भूमिसम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोहीअनुरूपको सहयोग हुनुपर्ने बताउनुभयो ।
मन्त्री रावलले भन्नुभयो, “एउटा सरकारले सहयोग नगर्दा पुरै पालिकामा सुकुम्बासीको लालपूर्जा वितरण रोकिन सक्छ ।” उहाँले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भएको बताउनुभयो । “पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानमा गइसकेको हुन्थ्यो”, उहाँले भन्नुभयो, “पीडितका हकमा जुनुसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ ।” उहाँले पीडितको न्योयोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गर्नुभयो ।
मन्त्री रावलले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालयलगायत पालिकाका प्रमुखहरू भूमिसम्बन्धी समस्या समाधानका लागि छलफल गर्नुभएको थियो । उहाँले महेन्द्रनगरस्थित निर्माणाधिन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभएको छ । रासस
























