देश/प्रदेश
आर्थिक आत्मनिर्भरता बिना महिला सशक्तीकरण कठिनः सुनिता डंगोल

काठमाडौं, भदौ ५-
महिला उद्यमशीलता तथा घरेलु र हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्नुका साथै तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३औँ सफ्टी तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला आजदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा सुरु भएको छ ।
मेलामा महिला उद्यमीले उत्पादन गरेका विभिन्न घरेलु तथा हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तीज पर्वमा विशेष महत्व राख्ने रातो चुरा, पोते, गरगहना तथा विभिन्न पहिरनसमेत मेलाका आकर्षण बनेका छन् ।
मेलाको उद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला उद्यमीलाई एकै ठाउँमा भेला गराएर एकअर्कालाई प्रोत्साहन र प्रेरणा दिने वातावरण सिर्जना गर्नु मेलाको महत्वपूर्ण पक्ष भएको बताइन् ।
उनले मेलाले महिला उद्यमीको व्यावसायिक तथा उद्यमशील यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।
‘सबै जना महिला उद्यमी यसरी एकै ठाउँमा बसेर एकअर्कालाई मोटिभेट र प्रोत्साहन गरिरहनुभएको छ । यो मेलाले सम्पूर्ण उद्यमीलाई व्यावसायिक तथा उद्यमशील जीवनमा अझ धेरै ऊर्जा थपोस्,’ उनले भनिन् ।
डंगोलले तीज पर्वले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्नुपर्ने सन्देशसमेत दिएको बताइन् । आर्थिक रूपमा सबल र आत्मनिर्भर नभएसम्म अपेक्षित महिला सशक्तीकरण हासिल गर्न कठिन हुने उनको भनाइ थियो ।
‘जब सम्म हामी आर्थिक रूपमा सबल बन्न सक्दैनौँ, आफैँमा आत्मनिर्भर हुन सक्दैनौँ, हामीले परिकल्पना गरेको महिला सशक्तीकरण हासिल गर्न निकै कठिन छ,’ उनले भनिन् ।
उनले मेलामा सहभागी महिला उद्यमीहरू एकअर्काका लागि प्रेरणाको स्रोत बन्न सकून् भन्ने शुभकामना पनि व्यक्त गरिन् । मेला भदौ ७ गतेसम्म सञ्चालन हुनेछ ।

























