देश/प्रदेश
गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन एमाले सांसद राईको माग

काठमाडौँ, भदौ २-
प्रतिपक्ष दल एमाले सांसद राजेन्द्रकुमार राईले गाँजा खेतीलाई तत्काल कानुनी मान्यता दिन सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले गाँजा खेतीलाई आर्थिक समृद्धिको आधारका रूपमा व्याख्या गर्दै यसका लागि आवश्यक कानुन र विधि निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । गाँजा खेतीकै कारण आफ्नो निर्वाचन क्षेत्र धनकुटाका युवाहरू कानुनी झमेलामा परेको र जेल भरिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘१८ देखि ३० वर्ष उमेर समूहका धेरै युवा जीविकोपार्जनका लागि गाँजा खेती गर्दा आज जेलमा छन् । यसले गर्दा धनकुटाका जनतामा निराशा र त्रास छाएको छ । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ उनले भने, ‘गाँजाबाट बनेका जुत्ता, मोजा र टोपीजस्ता सामग्री प्रयोगमा आइसकेका छन् । सामग्री प्रयोग गर्न हुने तर यसको व्यावसायिक खेती र बिक्री गर्न किन नहुने ? यो गम्भीर प्रश्न हो ।’

























