देश/प्रदेश
पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरिने

काठमाडौँ, साउन २९-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज यहाँ आयोजित ५९ औँ वार्षिक साधारणसभामा उहाँले वर्तमान सरकार पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको बताउनुभयो ।
देशको पर्यटन क्षेत्रको विकासका खातिर नीतिगत र संरचनागत समस्या समाधान गर्न आफू क्रियाशील रहेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रसँगको साझेदारीमा राष्ट्रलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले स्नातक र स्नातकोत्तर तहमा आरोग्य पर्यटनसम्बन्धी अध्यापनको व्यवस्था गर्न लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
फरक प्रसङ्गमा पर्यटनमन्त्री पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरिने बताउनुभयो ।

























