देश/प्रदेश

सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

Banner

काठमाडौँ, साउन २५

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा सांसद विपिनकुमार आचार्यले संसदीय सुधार समिति बनाएर संसद्लाई बढी रचनात्मक बनाउन ध्यानाकर्षण गराउनुभयो ।

सांसद विष्णुमाया विकले मल नपाइने, ग्यास नपाइने अवस्था आएकाले सरकार समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। सांसद शाहजान खातुनले निजामती र अन्य कर्मचारीको जस्तै बालविकासका शिक्षक र विद्यालयका कर्मचारीको पनि तलब बढाउन माग गर्नुभयो ।

सांसद शोभा खनालले संविधानको धारा ३३ मा रोजगारीको हकको व्यवस्था गरिएको बताउँदै नेपालमा रोजगारी नपाएर विदेशमा जानुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकालाई विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद शिवशङ्कर यादवले सबैले सकारात्मक सोच बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सांसद श्रद्धा कुँवरले सांकेतिक भाषाको शब्दकोश विकास गर्न माग गर्नुभयो । सांसद श्रीधर पोखरेलले बाँके, बर्दियालगायत जिल्लामा दुई दशकअघि सरकारले केही जग्गा दिएर कमैया मुक्त गरे पनि बेचबिखनको अधिकार नहुँदा समस्या भएकाले समाधान गर्न माग गर्नुभयो ।

सांसद श्रीराम न्यौपानेले शून्य समयमा श्रव्यसामग्रीसहित विषय राख्ने व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद सन्तोष राजवंशीले स्थानीय तहले मोरङका विभिन्न पालिकामा भूमिहीनको तथ्याङ्क सङ्कलनको काम नगरेकाले स्थानीय तह जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सांसद सन्तोष सुब्बाले दुग्ध किसानको बाँकी भुक्तानी दिन माग गर्नुभयो। सांसद सन्दीप रानाले पाल्पाका ग्रामीण सडकमा गर्मीमा धुलो र पानी परेका बेलामा हिलोले समस्या हुने गरेकाले समाधान गर्न माग गर्नुभयो । सांसद सरस्वती लामाले ग्यास अभावको समस्या समाधान गर्न माग गर्नुभयो । विद्युतीय चुल्हो प्रयोगको स्पष्ट नीति र सहुलियत दिनुपर्नेमा पनि उहाँको जोड थियो ।

सांसद सरिता महतोले अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक प्रदेशमा केन्द्र खोल्ने कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। सांसद सागर भुसालले विद्युत् सेवा भरपर्दो बनाउन माग गर्नुभयो ।

सांसद साजिदा खातुन सिद्धिकीले सांसदलाई सामाजिक सञ्जाललगायतबाट गाली गर्ने गरिएकाले त्यस्तालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो। सांसद सृजना श्रेष्ठले भन्सार प्रणालीलाई पारदर्शी बनाउन माग गर्नुभयो ।

सांसद सीता थपलियाले पुष्पलाल मार्गको धादिङ जिल्लास्थित त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती हुने गरेको भन्दै समस्या समाधान गर्न माग गर्नुभयो । सांसद सुजाता तामाङले नीति बनाउँदा प्रकृतिसँग सम्बन्धित आदिवासीको ज्ञान, सीपको उपयोग गरिनुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>