राजनीति
कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री पौडेल

काठमाडौँ, साउन २३-
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै समयमा हुने बताउनुभएको छ । कांग्रेस काठमाडौँ महानगरपालिका २६ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको सम्मान तथा शुभकामनामा उहाँले पार्टीले असोजको १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गरेकाले तोकिएकै समयमा महाधिवेशन हुने बताउनुभयो ।
“कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ, उक्त बैठकले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्नेबारे निर्णय गर्छ”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय कांग्रेसलाई कमजोर बनाउने र अल्मल्याउने काम भइरहेको भन्दै यसप्रति सबै नेता तथा कार्यकर्ता सचेत हुनुपर्ने बताउनुभयो ।
महामन्त्री पौडेलले कांग्रेस डिजिटल माध्यममार्फत सबैभन्दा धेरै क्रियाशील सदस्य भएको पार्टी बनेको भन्दै अब क्रियाशील सदस्यबाटै स्थानीय तहको उम्मेवार छान्ने व्यवस्था गरिने उल्लेख गर्नुभयो । कांग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँले कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भन्दै बलियो बनाउनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कांग्रेस बागमती प्रदेशकी सहमहामन्त्री जीवन डङ्गोल, कांग्रेस क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, बागमती प्रदेशकी सांसद एवं पूर्वप्रदेशमन्त्री हरिप्रभा खड्गी, क्षेत्र नं ६ प्रदेश ‘क’ का सभापति ख्यामराज तिवारी, काठमाडौँ महानगरपालिका–२६ का सभापति अर्जुन सिंखडा, उपसभापति गणेश रिजाललगायतले कांग्रेसलाई एकताबद्ध बनाएर अगाडि बढाउन सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

























