राजनीति
पर्यटन क्षेत्रको विकास गर्न विधेयक संशोधन गर्नुपर्छः पर्यटनमन्त्री पौडेल

काठमाडौँ, साउन १९ –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पर्यटन क्षेत्रको विकासलाई व्यवस्थित गर्न पर्यटन विधेयकलाई समयानुकूल संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले विधेयकमा आधुनिक पदमार्ग, आरोग्य पर्यटन, सांस्कृतिक र सहासिक पर्यटकलगायतका बहुआयामिक विषयबस्तुलाई समेटिनुपर्ने आवश्यकता औल्याउनुभयो ।
मन्त्री पौडेलले तीन वर्षअघि ड्राफ्ट भएको पर्यटन विधेयक राष्ट्रियसभामा पेस भई प्रतिनिधिसभामा आएको भए त्यसमा विस्तृत संशोधन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पर्यटनको प्रशस्त सम्भावना बोकेको देशलाई व्यवस्थित बनाउने बलियो कानुन आवश्यक छ, विधेयकमाथि सरोकारवालबीच छलफल र सांसदबाट आवश्यक सुझाव चाहिन्छ ।”
समितिमा उक्त विधेयकमाथि भएको सैद्धान्तिक छलफलमा भाग लिदै सांसदले सरोकारवाला, पर्यटन क्षेत्रका जानकार, व्यवसायी र सम्बन्धित सङ्घसंस्थासँग छलफल गरी विधेयकलाई गुणस्तरीय तुल्याउन सुझाव दिनुभयो ।
त्यसअवसरमा समिति सभापति सुम्नीमा उदासले तीन तहको सरकारको साझा अधिकारसँग जोडिएको पर्यटक विधेयक निर्माणदेखि कार्यान्वयनसम्मको अवस्थालाई मध्यनजर गरी संशोधन गर्नुपर्ने बताउनुभयो ।
सांसद जगदीश खरेलले उक्त विधेयक देशको विकास र समृद्धिसँग जोडिएकाले यसलाई जति सक्दो छिटो कानुनी रुप दिनुपर्ने बताउनुभयो ।
सांसद गणेशबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक पक्ष समेत समेट्ने गरी विधेयक ल्याइनुपर्ने धारणा राख्नुभयो ।
सांसद भूमिका लिम्बू सुब्बाले विधेयकमा बहुसांस्कृतिक संग्रालयको अवधारणा समेट्न सुझाव दिनुभयो ।
सांसद अनुश्का श्रेष्ठले विधेयकको सैद्धान्तिक छलफलकै चरणमै सरोकारवालाबीच पर्याप्त छलफल चलाएर सुझाव लिन सल्लाह दिनुभयो ।
प्रतिनिधिसभा सदस्य वीना गुरुङ, डा अर्जुनकुमार कार्की, श्रीधर पोखरेललगायतले युग सुहाउँदो पर्यटन क्षेत्रको विकास र विस्तारका लागि विधेयकलाई प्रभावकारी र गुणस्तरीय तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो । रासस

























