राजनीति
‘संविधानअनुसार प्रदेशलाई काम गर्न दिइनुपर्छ’

कर्णाली, साउन १५ –
कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिइए मात्रै वास्तविक अर्थमा सङ्घीयता कार्यान्वयन हुने धारणा राख्नुभएको छ ।
सङ्घबाट प्रदेश चलाउने गतिविधिका कारण सङ्घीयताको वास्तविक अभ्यास हुन नसकेको उहाँहरूको भनाइ थियो । प्रदेशसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घीयता कार्यान्वयनमा सबै पक्ष इमान्दार हुनुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकार गठनको प्रक्रिया र त्यसले दिएको सन्देशको चर्चा गर्दै काठमाडौँमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने संस्कार कहिलेसम्म रहने हो भनी प्रश्न गर्नुभयो ।
प्रदेशसभा सदस्य राजकुमार शर्माले सबै अधिकार केन्द्रमा केन्द्रित गरेर सङ्घीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिने बताउनुभयो । उहाँले कर्णालीसहित मुलुकको समृद्धि र रूपान्तरणका लागि सहमति र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
बैठकमा नेकपा ९एमाले० कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सहमति र सहकार्यबाट कर्णाली प्रदेश अघि बढेको उल्लेख गर्दै वर्तमान सरकारले अब बजेट कार्यान्वयनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले सुरु गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कर्मको परिणाम र भाग्य दुवैसँगै आउने भएकाले नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सुशासनविपरीत काम गरे ठूलो समस्या आउन सक्ने चेतावनी दिँदै अघिल्लो सरकारले पूरा गर्न नसकेका काम वर्तमान सरकारले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य सन्तोषी शाही, इन्दिरा शाही, उर्मिला विश्वकर्मा, दक्षिणा शाही र पूर्णबहादुर खत्रीले सरकार परिवर्तन भए पनि जनताका समस्या यथावत् रहेकाले ती समस्या समाधानतर्फ सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो ।
बैठकमा प्रदेशसभा सदस्यले वर्तमान सरकारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आज अपराह्न ३ः०० बजे बस्नेछ । रासस

























