मनोरञ्जन
विवादपछि युट्युबबाट हटाइयो ‘मास्टर्नी’को प्रमोसन गीत, अन्य च्यानललाई पनि हटाउन दुर्गेश थापाको आग्रह

चितवन, साउन ३-
गायक तथा कलाकार दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत सार्वजनिक भएको केही समयमै चर्को विवादमा परेपछि आधिकारिक युट्युब च्यानलबाट हटाइएको छ।
गीत सार्वजनिक भएपछि त्यसमा प्रयोग गरिएका शब्द र प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। धेरैले गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि आँच पुग्ने गरी अमर्यादित शब्द, दृश्य र अभिव्यक्ति प्रयोग गरेको आरोप लगाएका थिए। गीतले शिक्षकप्रति गलत सन्देश प्रवाह गर्ने, शिक्षण पेसाको सम्मानमा ठेस पुर्याउने तथा सामाजिक संस्कृतिलाई समेत नकारात्मक असर पार्ने टिप्पणीहरू सार्वजनिक भएका थिए।
विवाद बढ्दै गएपछि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समिति ले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर आपत्ति जनाएका थिए। उनीहरूले शिक्षक तथा शिक्षण पेसाको सम्मान कायम राख्न सम्बन्धित पक्षलाई गीत तत्काल हटाउन र भविष्यमा यस्ता सामग्री निर्माण गर्दा जिम्मेवार बन्न आग्रह गरेका थिए। लगातारको आलोचना र शिक्षक संगठनहरूको विरोधपछि उक्त गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट हटाइएको हो। तर, गीत हटाइएपछि पनि विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालका पेजहरूमा पुनः अपलोड भइरहेका भिडियोहरूलाई लिएर दुर्गेश थापाले असन्तुष्टि व्यक्त गरेका छन्।
नारायणी अनलाइनसँग कुराकानी गर्दै दुर्गेश थापाले आफूले आधिकारिक च्यानलबाट गीत हटाइसकेको जानकारी दिँदै अरू च्यानलहरूले पनि त्यसलाई पुनः अपलोड नगर्न आग्रह गरेका छन्। उनले भने, मेरो आधिकारिक युट्युब च्यानलबाट गीत हटाइसकेको छु। अन्य युट्युब च्यानल तथा फेसबुक पेजहरूमा पनि उक्त गीत पुनः अपलोड नगरिदिनुहुन सबैमा अनुरोध गर्दछु। एक–दुई वटा च्यानललाई मैले हटाइदिन अनुरोध गरेको थिएँ, उहाँहरूले हटाइसक्नुभएको छ। बाँकीले पनि सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा गरेको छु। विवादित सामग्री हटाइए पनि गीतका क्लिप तथा पूर्ण भिडियो विभिन्न अनधिकृत च्यानलहरूमा अझै भेटिने गरेका छन्। यसले विवादलाई थप लम्ब्याइरहेको भन्दै सम्बन्धित पक्षले त्यस्ता सामग्री हटाउन सहयोग गर्न आग्रह गरेका छन्।
चलचित्र ‘मास्टर्नी’ को प्रमोसनका लागि तयार गरिएको उक्त गीतले अपेक्षित चर्चा पाए पनि त्यसको प्रस्तुतिले शिक्षक समुदायको भावना आहत बनाएको भन्दै आलोचना खेप्नुपरेको हो। पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गीत तथा मनोरञ्जनात्मक सामग्रीले कुनै पनि पेशा, समुदाय वा व्यक्तिको सम्मानमा आँच नपुग्ने गरी सिर्जना गर्नुपर्ने बहससमेत यो घटनापछि फेरि एकपटक चर्किएको छ।



























